गर्मीमा कति पानी पिउने ?

होमपेज / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • १ साउन २०८२ (३ दिन अघि)
  • १०१

गर्मी मौसममा अत्यधिक तापक्रम र पसिनाको कारण शरीरमा पानीको मात्रा तीव्र रूपमा घट्न सक्ने भएकाले चिकित्सकहरूले दिनभर पर्याप्त मात्रामा पानी पिउन आग्रह गर्नुभएकाे छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, एक स्वस्थ वयस्क व्यक्तिले गर्मीमा दैनिक कम्तीमा ३ देखि ४ लिटर अर्थात् १० देखि १६ गिलास पानी पिउनु उपयुक्त हुन्छ।

विशेष गरी गर्मी मौसममा पसिना सँगै शरीरबाट नून, खनिज र तरल पदार्थ गुम्ने भएकाले शरीरलाई हाइड्रेट राख्न नियमित रूपमा पानी सेवन गर्नु आवश्यक हुन्छ। चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीमा काम गर्ने, कसरत गर्ने वा धूपमा बढी समय बिताउने व्यक्तिहरूले झनै बढी पानी पिउनुपर्छ।

पानीको कमीले शरीरमा थकान, टाउको दुख्ने, छालामा रुखोपन, चक्कर लाग्ने, पिसाबमा गाढा पहेंलो रङ आउनेजस्ता समस्या देखिन सक्छन् । यदि शरीरलाई आवश्यक मात्रामा पानी दिइएन भने गम्भीर अवस्थामा हीट स्ट्रोकसमेत हुन सक्छ।

पानी सेवनका साथै चिकित्सकहरूले गर्मीयाममा पानीयुक्त फलफूल—जस्तै तरबूजा, काक्रो, खरबुजा, सुन्तला आदिको नियमित सेवन गर्न सुझाव दिएका छन्। साथै, बिहान उठ्नेबित्तिकै र घाममा हिँड्नुअघि/पछिसमेत एक–दुई गिलास पानी पिउन सल्लाह दिइएको छ।

एकै पटक अत्यधिक पानी पिउनुभन्दा दिनभर साना–साना मात्रामा निरन्तर सेवन गर्नु शरीरका लागि लाभदायक हुने विज्ञहरूको भनाइ छ। चिसो पानीको अत्यधिक सेवनले भने घाँटी र पेटमा समस्या ल्याउन सक्ने भएकाले कोठाको तापक्रमअनुसारको पानी उपयुक्त हुने उनीहरू बताउँछन्।

गर्मीको समयमा विशेष सावधानी अपनाएर शरीरलाई हाइड्रेट राख्नु स्वास्थ्य सुरक्षाको आधार मानिन्छ। -एजेन्सी

अन्तिम अध्यावधिक: १ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस