बेलाैरी नगरपालिका ७ द्वारा कम्बल (ब्ल्याङ्केट) वितरण

होमपेज /
विपन्न परिवारलाई राहत
बेलाैरी नगरपालिका ७ द्वारा कम्बल (ब्ल्याङ्केट) वितरण
  • निरु चौधरी
  • १७ पुष २०८२ (२ हप्ता अघि)
  • १३९

निरु चौधरी/ बेलौरी, कञ्चनपुर

चिसो मौसम तीव्र बन्दै गएसँगै बेलौरी नगरपालिका–७ का भलमन्सा, पधना, चौकीदार, द्वन्द्वपीडित तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी वडा कार्यालयले कम्बल वितरण गरेको छ।

बुधबार सम्पन्न कार्यक्रममा वडाभित्रका ६८ जना विपन्न तथा जोखिममा परेका नागरिकलाई राहतस्वरूप कम्बल (ब्ल्याङ्केट) वितरण गरेकाे हाे।

दैनिक ज्याला–मजदुरी तथा जोखिमपूर्ण परिस्थितिमा जीवनयापन गरिरहेका नागरिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न आग्रहपूर्ण सोचका साथ यो कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय दिवान सिंह बिष्टले चिसो मौसममा कमजोर वर्गमा पर्ने असर न्यूनिकरण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो—“चिसोले सबैलाई समान असर गर्दैन। जोसँग स्रोत छ, उनीहरूले सजिलै सामना गर्छन्; तर विपन्न, अपाङ्गता भएका, द्वन्द्वपीडित र दैनिक ज्याला–मजदुरी गरेर बाँचिरहेका नागरिकका लागि चिसो आफैँमा ठूलो चुनौती हो। त्यसैले राज्यका संरचना जनतासँग नजिकिएर काम गर्दा मात्र सामाजिक न्यायको अनुभूति हुन्छ। साना सहयोगले पनि ठूलो भरोसा र आत्मबल दिन सक्छ, यही बुझेर स्थानीय तहले अघि बढ्नु जरुरी छ।”

यसैगरी वडाध्यक्ष प्रकाश श्रेष्ठले वडा कार्यालयले केवल प्रशासनिक काम मात्र नगरी समुदायको अभिभावकको भूमिकामा रहँदै नागरिकका समस्या पहिचान गरी तिनको समाधानमा हातेमालो गर्दै आएको बताउनुभयो।

उहाँले भन्नुभयो — “हाम्रो वडामा धेरै नागरिकहरू यस्ता पनि छन्, जो बिहान–बेलुकीको छाक जुटाउनै संघर्ष गरिरहेका छन्। यस्ता परिवारका लागि चिसो मौसम थप पीडा र जोखिमको कारण बन्छ। 

हामीसँग आर्थिक स्रोत–साधन प्रयाप्त छैन्, तर उपलब्ध स्राेतलाई अत्यन्तै निष्पक्ष र संवेदनशील ढङ्गले प्रयोग गरेर विपन्न, अपाङ्गता भएका, असहाय, चौकीदार, भलमन्सा जस्ता समुदायका प्रहरी जस्तै काम गरिरहनेहरूलाई प्राथमिकतामा राखेर सहयोग पुर्‍याउने हाम्रो सानाे प्रयास हो।,

त्यसैले नागरिकले ‘हामी एक्ला छैनौँ, हाम्रो साथमा सरकार छ’ भन्ने अनुभूति गर्नुपरेको छ। यस्ता कार्यक्रमले सहानुभूति मात्र होइन, आपसी विश्वास र आत्मीयता पनि बढाउँछ।

आगामी दिनमा पनि वडाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ योजनाबद्ध रूपमा अघि बढाउँदै कमजोर र जोखिममा रहेका नागरिकलाई प्राथमिकतामा राख्नेछ।”

यस्तै, कालिका मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्तले कमजोर वर्गलाई सम्झेर सहयोग गर्ने कार्य नै मानवीयताको उच्चतम अभ्यास भएको बताउनु भयो।

धार्मिक अगुवा समेत रहेका समाजसेवी पन्तले “आर्थिक रूपमा कमजोर, शारीरिक रूपमा असहाय र सामाजिक रूपमा पछि परेका परिवारलाई राज्य संयन्त्रले चिसो बेलामा सम्झिनु, उनीहरूका ढोकासम्म पुगेर ‘यो तपाईंहरूको हकको सहयोग हो’ भन्नु नै वास्तविक सामाजिक न्यायको जीवन्त उदाहरण हो,” उहाँले भन्नुभयो ।

कम्बल पाएपछि लाभग्राहीहरूले चिसोबाट राहत पुगेको अनुभव बाँड्दै वडाध्यक्ष श्रेष्ठलाई धन्यवाद व्यक्त गरेका छन्।उनीहरूको भनाइमा, यस्तो सहयोगले दैनिक जीवन सहज हुनुका साथै मनोबल पनि बढाएको छ।

अन्तिम अध्यावधिक: १७ पुष २०८२