बेलौरी, कञ्चनपुर ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट जनधनको क्षति भएपछि बेलौरी नगरपालिकाले सम्पर्क विहीनहरुको खोजीमा समन्वय गर्न अपिल गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका बेलौरीका नागरिकको अवस्थाबारे चासो बढेको भन्दै नगरपालिकाले सम्पर्कविहीन व्यक्तिको खोजी तथा आवश्यक उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको हो।
बेलौरी नगरपालिका स्थायी ठेगाना भई रोजगारी, व्यवसाय तथा अन्य कामका शिलशिलामा ती क्षेत्रमा पुगेका र हालसम्म परिवारको सम्पर्कमा आउन नसकेका व्यक्तिका आफन्तलाई उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन तथा प्राप्त सूचना सम्बन्धित निकायमा पुर्याउन नगरपालिकाले आग्रह गरेको छ।
सम्पर्कविहीन तथा प्रभावित व्यक्तिबारे जानकारी लिन वा दिनका लागि नगरपालिकाले आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।
प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर ९८५८७३७७७७, प्रहरी प्रमुख, कञ्चनपुर ९८५८७३५५५५, नगर प्रवक्ता ९८०१७४३०४५ र विपद् फोकल पर्सन ९८०१३८५६७४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति अशोक पाण्डेले बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नागरिकको सुरक्षा तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिए।
नगरपालिकाले नदी तथा खोलाको किनार, जोखिमयुक्त क्षेत्र र बाढीपहिरो प्रभावित स्थानमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न सबैलाई आग्रह गरेको छ।
