बेलडाँडीका समस्या लिएर सिंहदरबार पुगे नेता धामी

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
बेलडाँडीका समस्या लिएर सिंहदरबार पुगे नेता धामी
  • चन्द्रिका चौधरी
  • ९ भदौ २०८३ (१३ घण्टा अघि)
  • १२८

रेडियो सुदूर सञ्चार -

कञ्चनपुरको बेलडाँडीका दीर्घकालीन समस्या समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलडाँडीका सभापति तेज सिंह धामीले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

धामीले क्षेत्र नम्बर १ का सांसद माननीय जनक सिंह धामीसँगै कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीसँग भेट गरी बेलडाँडीको विकास, वन तथा निकुञ्जसँग सम्बन्धित समस्या र स्थानीयले भोग्दै आएका जटिलताबारे छलफल गरेका हुन्।

भेटवार्तामा रासायनिक मल तथा खाद्य आपूर्ति, चाैधरनदी डाइभर्सन, कालिकिच तालको संरक्षण, निकुञ्ज र मानव बस्तीबीचको सीमाङ्कन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषय उठाइएको थियो।

त्यसैगरी, दशकौँदेखि बसोबास गर्दै आएका नागरिकको जग्गा साविक जंगल वा नेपाल सरकारको नाममा कायम रहेको समस्या, अव्यवस्थित बसोबासीको व्यवस्थापन तथा विकास निर्माणका क्रममा सडक क्षेत्रमा पर्ने रुख कटानमा देखिने कानुनी अवरोध हटाउने विषयमा समेत छलफल भएको बताइएको छ।

निकुञ्जसँग जोडिएका बस्तीमा जंगली हात्ती, बाघलगायतका वन्यजन्तुबाट स्थानीयले भोग्दै आएको जोखिमलाई मध्यनजर गर्दै धामीले दीर्घकालीन समाधानको माग गरेका छन्।

उनले बस्तीको किनारबाट कम्तीमा पाँच सय मिटर क्षेत्रलाई सामुदायिक वनका रूपमा विकास गर्ने प्रस्तावसमेत अघि सारेका छन्।

वन्यजन्तुबाट हुने जनधन, पशुधन तथा खेतीबालीको क्षतिका लागि प्रभावकारी राहत र विशेष क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग पनि धामीले राखेका छन्।

छलफलमा पशुपालन क्षेत्रका समस्याबारे समेत मन्त्रीको ध्यानाकर्षण गराइएको थियो। दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्न पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउने, पशु रोग नियन्त्रण गर्ने तथा निरोगी पशुपालनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

सभापति धामीले स्थानीय तहबाट मात्र समाधान हुन नसक्ने कानुनी तथा नीतिगत विषय संघीय सरकारको पहलबाट टुंग्याउनुपर्ने बताए।

सांसद जनक सिंह धामीले बेलडाँडीका समस्या समाधानका लागि आवश्यक पहल तथा निरन्तर समन्वय भइरहेको जनाएका छन्।

मन्त्री चौधरीले उठाइएका विषयको अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ।

बेलडाँडीका स्थानीय समस्या सम्बन्धित मन्त्रालयसम्म पुर्‍याउँदै समाधानका लागि पहल सुरु गरिनुलाई स्थानीयस्तरमा सकारात्मक कदमका रूपमा हेरिएको छ।

पालिका सभापति धामी आगामी स्थानीय निर्वाचनका लागि बेलडाँडी गाउँपालिका अध्यक्ष पदका निर्विरोध उम्मेदवार समेत हुन्। 

अन्तिम अध्यावधिक: ९ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस