राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि वात्सल्यका विलक्षण छनोट

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
वात्सल्यकै छात्र अनुराग बिष्टकाे पनि प्रभावशाली प्रदर्शन
राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि वात्सल्यका विलक्षण छनोट
  • चन्द्रिका चौधरी
  • ४ असोज २०८३ (५ घण्टा अघि)
  • ८४

बेलौरी, कञ्चनपुर — कञ्चनपुरमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम तथा कैलाली–कञ्चनपुर जिल्लास्तरीय प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका वात्सल्य विद्या निकेतन बेलौरीका छात्र विलक्षण पौडेल राष्ट्रियस्तरको Scrabble Competition का लागि छनोट भएका छन्।

चैतन्य पाठशाला धनगढीको आयोजनामा असोज ३ गते सम्पन्न कैलाली तथा कञ्चनपुर जिल्ला स्तरीय स्क्राबल प्रतियोगितामा कैलाली र कञ्चनपुरका २६ विद्यालयबाट ५२ जना उत्कृष्ट विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतियोगितामा वात्सल्यका छात्र विलक्षणले सात खेलमध्ये ६ खेलमा जित हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरे। सोही प्रदर्शनका आधारमा उनी राष्ट्रियस्तरको प्रतियोगिताका लागि छनोट भएका हुन्। विलक्षणले कञ्चनपुरतर्फ भने प्रथम स्थान हासिल गरेका थिए।

त्यस्तै, वात्सल्य विद्या निकेतनकै छात्र अनुराग बिष्टले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै कञ्चनपुरमा दोस्रो तथा कैलाली–कञ्चनपुरको संयुक्त नतिजामा चौथो स्थान हासिल गरेका छन्।

अनुरागले सातमध्ये पाँच खेलमा जित निकालेका थिए। उनी प्रतियोगितामा सर्वाधिक अंक ल्याउने विद्यार्थीको नजिक रहेर उत्कृष्ट प्रतिस्पर्धा गर्न सफल भए।

स्क्राबल अंग्रेजी शब्द निर्माण, हिज्जे तथा शब्दज्ञानमा आधारित बौद्धिक खेल हो। विद्यार्थीको शब्दभण्डार, स्मरणशक्ति, रणनीतिक सोच तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

आफ्ना विद्यार्थीको उपलब्धिप्रति खुसी व्यक्त गर्दै वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण सिंह दियालले प्रतियोगिताको आयोजना तथा व्यवस्थापनका लागि चैतन्य पाठशालाप्रति आभार व्यक्त गरेका छन्।

प्रिन्सिपल दियालले नयाँ पुस्ताको प्रतिभा पहिचान र विकासका लागि चैतन्य पाठशालाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै भने, “नयाँ पिँढीप्रति देखाउँदै आएको पवित्र उत्तरदायित्वबोध र निरन्तर सत्कर्मका लागि चैतन्य पाठशालालाई सादर धन्यवाद। चैतन्य पाठशालाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।”

उनले प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण अफिसियलहरूप्रति विशेष धन्यवाद समेत व्यक्त गरेका छन्।

विलक्षणको राष्ट्रियस्तरको प्रतियोगिताका लागि छनोट र अनुरागको उत्कृष्ट प्रदर्शनले वात्सल्य विद्या निकेतनको शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फको सक्रियतालाई थप उजागर गरेको विद्यालयले जनाएको छ।

अन्तिम अध्यावधिक: ४ असोज २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस