रसुवा बाढीका मृतकप्रति बेलौरीमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली

होमपेज / घटना / मुख्य समाचार / विविध / समाचार /
रसुवा बाढीका मृतकप्रति बेलौरीमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली
  • चन्द्रिका चौधरी
  • २२ भदौ २०८३ (२० घण्टा अघि)
  • २८४

बेलौरी, कञ्चनपुर -

रसुवा जिल्लाको भोटेकोशी नदीमा यही भाद्र १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको १३औँ दिनको पुण्यतिथिमा सोमबार साँझ बेलौरी बजारस्थित भीमदत्त चोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीलगायत उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको उद्योग वाणिज्य संघले जनाएको छ।

सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश राज पन्तले बाढीपछि बेपत्ता रहेका नागरिकहरूको खोजीकार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे।

उनले बेलौरीका बेपत्ता नागरिकका परिवारजनको पीडालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिएकोमा स्थानीय सरकारप्रति धन्यवाद व्यक्त गरे।

स्याप्रुवेसीस्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत बेलौरीका रामचन्द्र चौधरी, खुसीराम चौधरी र प्रकाश चौधरीको अवस्था अझै अज्ञात रहेकाले चिन्ता व्यक्त गरिएकाे छ।

उता, बेपत्ता नागरिकहरूको खोज तथा उद्धारका लागि गत बिहीबार रसुवा पुगेको बेलौरीको विपद् व्यवस्थापन टोली सोमबार स्तब्ध हुँदै बेलौरी फर्किएको छ।

टोलीले रसुवामा निरन्तर खोज तथा उद्धार प्रयास गरे पनि बेपत्ता नागरिकको अवस्था पत्ता लाग्न नसकेको जनाएको छ।

अन्तिम अध्यावधिक: २२ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस