बालिका हत्याविरुद्ध बेलौरीमा नागरिक खबरदारी, दोषीलाई कडा कारबाहीको माग

होमपेज / अपराध / घटना / समाचार /
बालबालिका माथि हुने हिंसाविरुद्ध सबै पक्ष एकजुट
बालिका हत्याविरुद्ध बेलौरीमा नागरिक खबरदारी, दोषीलाई कडा कारबाहीको माग
  • चन्द्रिका चौधरी
  • ७ भदौ २०८३ (५ घण्टा अघि)
  • ७१

बेलौरी, कञ्चनपुर —

कञ्चनपुरको बेलौरीमा देशका विभिन्न स्थानमा बालिकामाथि भएका जघन्य हिंसा तथा हत्याका घटनाविरुद्ध नागरिकस्तरबाट खबरदारी सुरु भएको छ।

घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कानूनी कार्वाही गर्न माग गर्दै बेलौरीमा लगातार दुई दिन श्रद्धाञ्जली तथा विरोध कार्यक्रम आयोजना गरिएको हाे।

शनिबार स्थानीय विष्णुदत्त अवस्थीलगायत युवाहरूको सहभागितामा बालिका हत्या तथा हिंसाविरुद्ध श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो।

कार्यक्रममा युवाहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्ने र जघन्य अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग गरेका थिए।

भने, आइतबार बेलौरी बजारस्थित भीमदत्त चोकमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवालगायतको सहभागितामा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरिएको छ।

कार्यक्रममा बारा जिल्लाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या, सोही जिल्लाकी दुई वर्षीया बालिका बिन्दी मण्डल बेपत्ता तथा जनकपुरमा दुई वर्षीया बालिकाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको घटनाप्रति दुःख व्यक्त गरिएको थियो।

सहभागीहरूले बालबालिकाको सुरक्षा, मानव अधिकार तथा नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका थिए।

उनीहरूले यस्ता जघन्य अपराधमा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै तत्काल पक्राउ गरी प्रचलित कानूनबमोजिम कठोर कारबाही गर्न माग गरेका छन्।

महिला नेतृ कमला बोहराले सामाजिक सञ्जालमार्फत पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताएकी छन्।

बाेहराले समाजमा दया, माया, करुणा र मानवीय संवेदना कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै बालबालिकामाथि हुने हिंसाविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरेकी छन्।

उनका अनुसार श्रद्धाञ्जली कार्यक्रममा सहभागी सबैको साझा आवाज दोषीलाई कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्ने रहेको थियो।

उनले कार्यक्रममा स्वतःस्फूर्त रूपमा सहभागी भएका सबैप्रति साधुवाद व्यक्त गर्दै सामाजिक मुद्दामा आफूहरू सधैँ एकसाथ उभिने प्रतिबद्धता जनाएकी छन्।

बेलौरीमा लगातार दुई दिन भएका कार्यक्रमले बालबालिकामाथि हुने हिंसा र जघन्य अपराधविरुद्ध स्थानीयस्तरमा नागरिक खबरदारी बढ्दै गएको देखाएको छ।

सहभागीहरूले बालबालिकाको सुरक्षाका लागि प्रभावकारी कानुनी तथा सुरक्षा व्यवस्था सुनिश्चित गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन्।

अन्तिम अध्यावधिक: ७ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस