विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षमा सम्राट सिंह

होमपेज / राजनीति / विविध / समाचार /
राष्ट्रिय सम्मेलन सम्पन्न गराउने जिम्मेवारी काँधमा
विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षमा सम्राट सिंह
  • शीतल भट्ट
  • १९ साउन २०८३ (१ दिन अघि)
  • ३२५

बेलाैरी, कञ्चनपुर — विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षमा सम्राट सिंह चयन भएका छन्। संघले उनलाई संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।

सिंहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै राष्ट्रिय सम्मेलन सम्पन्न गराउने महत्वपूर्ण दायित्वसमेत आफ्नो काँधमा आएको बताएका छन्। उनले संगठनलाई थप सुदृढ बनाउँदै साझा संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत रहेका सिंह विश्व हिन्दु युवा संघका सुदूरपश्चिम प्रदेश इञ्चार्ज समेत हुन्। युवामाँझ निकै लाेकप्रिय रहेका उनले यसअघि शिव सेना नेपालको नेतृत्वसमेत गरेका थिए।

लामो समयदेखि हिन्दू धर्म, संस्कृति तथा हिन्दू राष्ट्रको पक्षमा विभिन्न अभियान सञ्चालन गर्दै आएका उनी धार्मिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

दार्चुलाको मार्मा पुर्ख्यौली घर भएका सिंह लामो समयदेखि कैलालीको अत्तरिया बजारमा बसोबास गर्दै आएका छन्। उनले कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसबाट आफ्नो अध्ययन पूरा गरेका हुन्। विद्यार्थी जीवनदेखि नै सामाजिक र धार्मिक गतिविधिमा सक्रिय रहेका उनी पछिल्ला वर्षहरूमा राजनीतिक अभियानमा पनि अग्रसर छन्।

राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा बलियो जनसम्पर्क बनाएका सिंहले हिन्दू राष्ट्रसम्बन्धी अभियानका सिलसिलामा स्वदेश तथा विदेशी मुलुकको भ्रमण गरेका छन्।

राजनीतिमा सक्रिय हुनुअघि उनी गीत–संगीत र मोडलिङ क्षेत्रमा पनि परिचित थिए। २०६५/०६६ सालतिर ‘चौलानीका छालैछाल’ बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका सिंहका कतिपय गीत तथा एल्बम सार्वजनिक भएका थिए। केही समय मनोरञ्जन क्षेत्रमा चर्चा बटुलेपछि उनी पूर्ण रूपमा सामाजिक, धार्मिक र राजनीतिक अभियानमा सक्रिय बनेँ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्राट सिंहले संगठनका प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, विभागीय संयोजक तथा कार्यकर्तालाई राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न आग्रह गरेका छन्। संगठनको गरिमा, उद्देश्य र एकतालाई आत्मसात् गर्दै साझा प्रयासबाट संगठनलाई थप सशक्त बनाइने उनले बताएका छन्।

सिंहले आफूलाई जिम्मेवारी प्रदान गरेको भन्दै विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी लगायत महासंघका पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्। प्राप्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै संगठनलाई देशव्यापी रूपमा सुदृढ बनाउने प्रतिबद्धता उनले जनाएका छन्।

अन्तिम अध्यावधिक: २० साउन २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस