‘कि सास, कि लास’को आशामा बाढी प्रभावित क्षेत्र पुगे दाजुभाइ

होमपेज / घटना / विविध / समाचार /
भोटेकोशी बाढीमा बेलाैरीका बेपत्ता तीन जनाको अवस्था अझैँ अज्ञात
‘कि सास, कि लास’को आशामा बाढी प्रभावित क्षेत्र पुगे दाजुभाइ
  • निरु चौधरी
  • १९ भदौ २०८३ (१ घण्टा अघि)
  • २७

कञ्चनपुर —

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी १० दिनदेखि बेपत्ता रहेका बेलौरी नगरपालिकाका तीन जनाको खोजी तथा अवस्थाबारे जानकारी लिन बेलौरीको विपद् व्यवस्थापन समितिको टोली बेपत्ता परिवारका दाजुभाइलाई समेत साथमा लिएर रसुवा पुगेको छ।

बेपत्ता हुनेमा बेलौरी नगरपालिकाका रामचन्द्र चौधरी, प्रकाश चौधरी र खुसीराम चौधरी रहेका छन्। उनीहरू रसुवाको स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा रहेको जलविद्युत् आयोजनामा कार्यरत रहेको बताइएको छ।

बाढी आएको दशदिन बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात रहेपछि परिवारजन गहिरो चिन्तामा छन्।

बेलौरी नगरपालिकाको विपद् व्यवस्थापन समितिको ६ सदस्यीय टोली बिहीबार रसुवातर्फ प्रस्थान गरेको थियो।

टोलीले शुक्रबार भोटेकोशी तथा त्रिशूली नदी आसपासका प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरेको छ।

नगरपालिकाका विपद् फोकल पर्सन अशोक पाण्डेका अनुसार बेपत्ता तीनै जनाका दाजुभाइलाई साथमा लिएर नगरपालिकाको विपद् व्यवस्थापन समितिका सदस्यसहित ६ जनाको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

“देश शोकमा डुबेको बेला हामी पीडित परिवारको सहयात्री बनेर उहाँहरूलाई साथ दिँदै रसुवा आएका हौँ,” पाण्डेले भने, “बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन सम्भावित स्थानमा खोजी तथा सुरक्षा निकाय र सरोकारवालासँग निरन्तर समन्वय गरिरहेका छौँ।”

आफन्त बेपत्ता भएको १० दिन बितिसक्दा पनि कुनै जानकारी नआएपछि परिवारजनको पीडा झन् गहिरिँदै गएको छ। अहिले उनीहरू नगरपालिकाको टोलीसँगै रसुवा पुगेर आफ्ना प्रियजनको ‘कि सास, कि लास’ पत्ता लाग्ने आशामा खोजीमा जुटेका छन्।

बिहीबार बाढी प्रभावित क्षेत्र प्रस्थान गरेको उक्त टाेली आइतबार फिर्ता हुने कार्यक्रमतय भएको पाण्डेले बताए। 

अन्तिम अध्यावधिक: १९ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस