बेलाैरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका–९, रतनपुरमा एक नाबालकमाथि खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरी नाम सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।
प्रहरीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
घटनामा अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग र अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नाबालकमाथि धारिलो हतियार (खुकुरी) देखाएर धम्क्याउने र कुटपिट गर्ने घटनाले बालबालिकाको सुरक्षा तथा समाजमा बढ्दो हिंसात्मक व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ।
कुनै विवाद भए समाधानका लागि कानुनी बाटो अपनाउनुको साटाे हतियारको प्रयोग र धम्कीमार्फत त्रास सिर्जना गर्ने प्रवृत्तिले सामाजिक सुरक्षामा चुनौती थप्ने देखिन्छ।
यस्ता घटनाको नियन्त्रणका लागि प्रभावकारी प्रहरी अनुसन्धान, कानुनको कार्यान्वयन र बालबालिकाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।
घटना संलग्न एकजना फरार रहेको बताइएको छ। भने पक्राउ परेका व्यक्तिहरूकाे अन्तिम निरूपण कानुनी प्रक्रियाबाट हुनेछ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।