हवाई उद्धारमा कानुनी जटिलता हटाउन सांसद महताको माग

होमपेज / मुख्य समाचार / समाचार / स्वास्थ्य/शिक्षा /
कानुन ठूलो कि एउटा नागरिकको जीवन?
हवाई उद्धारमा कानुनी जटिलता हटाउन सांसद महताको माग
  • रेडियो सुदूर सञ्चार
  • ८ असोज २०८३ (१२ घण्टा अघि)
  • ९७

बेलाैरी, कञ्चनपुर - 

कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको हवाई उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद महताले आफ्नै परिवारले भोगेको स्वास्थ्य संकटको प्रसंग उठाउँदै आपत्कालीन स्वास्थ्य उद्धार प्रणाली प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

महताका अनुसार भदौ ६ गते उनकी भाइबुहारीलाई सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकको सल्लाहमा भदौ ७ गते शल्यक्रिया गरी छोरी जन्मिएपछि आमाको स्वास्थ्य अवस्था अचानक जटिल बनेको उनले बताए।

शल्यक्रियापछि मुटुको चाल रोकिएर भेन्टिलेटरमा राख्नुपरेको र थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकप्टरबाट सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएको महताले संसदमा जानकारी गराए।

बिरामीको उद्धारका लागि स्वास्थ्य, महिला तथा बालबालिका र गृह मन्त्रालयमा सम्पर्कको प्रयास गरे पनि तत्काल सहयोग प्राप्त हुन नसकेको उनको भनाइ छ।

त्यसपछि सभामुखको कार्यकक्षमा पुगेर अवस्थाबारे जानकारी गराउँदा सभामुखले स्वास्थ्य मन्त्रीसँग टेलिफोनमार्फत उद्धारको व्यवस्था मिलाउन आग्रह गरेको उनले बताए।

तर सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दा कानुनी तथा प्रक्रियागत जटिलताका कारण तत्काल हेलिकप्टर उद्धार गर्न नसकिने जवाफ पाएको महताले उल्लेख गरे।
त्यसप्रति प्रश्न उठाउँदै उनले भने, ‘त्यो क्षणमा मेरो अगाडि एउटै प्रश्न थियो– कानुन ठूलो कि एउटा नागरिकको जीवन?’

सरकारी प्रक्रियाबाट तत्काल उद्धार सम्भव नभएपछि निजी क्षेत्रको हेलिकप्टरमार्फत उद्धारको विकल्प खोजिएको उनले बताए। काठमाडौँस्थित मेडिसिटी अस्पतालको टोलीले महाकाली अस्पतालका चिकित्सकसँग निरन्तर समन्वय गरी उद्धारको तयारी गरेको उनको भनाइ छ।

गेटा र महाकाली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सीमित स्रोतसाधनका बीच बिरामीको स्वास्थ्यमा सुधार ल्याउन निरन्तर प्रयास गरेको भन्दै महताले उनीहरूलाई धन्यवादसमेत दिए।

संघीय सांसद भएर राज्यका विभिन्न निकायसम्म प्रत्यक्ष पहुँच हुँदासमेत गम्भीर बिरामीको तत्काल हवाई उद्धारका लागि अनेकौँ तह र प्रक्रिया पार गर्नुपरेको उल्लेख गर्दै उनले सामान्य नागरिकको अवस्थामाथि प्रश्न उठाए।

‘म एक जना संघीय सांसद भएर राज्यका विभिन्न निकायसम्म प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि एउटा गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गराउन यति धेरै तह र प्रक्रिया पार गर्नुपर्ने अवस्था आयो भने सामान्य नागरिकले यस्तो परिस्थितिमा के गर्ने?’ उनले प्रश्न गरे।

महताले विशेषगरी दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि आपत्कालीन स्वास्थ्य उद्धारको भरपर्दो व्यवस्था आवश्यक रहेको बताए।

उनले चिकित्सकीय प्रमाण र सम्बन्धित अस्पतालको सिफारिसका आधारमा आपत्कालीन हवाई उद्धारको निर्णय तत्काल गर्न सकिने स्पष्ट व्यवस्था बनाउन सरकारसँग माग गरे।

स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल नागरिक उड्डयन प्राधिकरण, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा निजी हेलिकप्टर कम्पनीबीच चौबीसै घण्टा समन्वय हुने संयन्त्र निर्माण गर्नुपर्ने उनको सुझाव छ।

सुदूरपश्चिमजस्ता भौगोलिक रूपमा दुर्गम क्षेत्रमा गम्भीर बिरामीको उद्धारका लागि आवश्यक हवाई साधन र पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

महताले आपत्कालीन स्वास्थ्य उद्धारसम्बन्धी विद्यमान कानुनी तथा प्रक्रियागत व्यवस्थाको पुनरावलोकन गरी आवश्यक संशोधन गर्न र नागरिकको जीवन बचाउने कार्यमा अनावश्यक प्रक्रियागत अवरोध नआउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

‘मानव जीवनभन्दा ठूलो कुनै प्रक्रिया हुन सक्दैन। मानव जीवनभन्दा ठूलो कुनै नियम हुन सक्दैन। कानुन र नियम नागरिकको जीवन सहज बनाउनका लागि हुन्, जीवन बचाउने बाटो छेक्नका लागि होइनन्,’ महताले भने।

अन्तिम अध्यावधिक: ८ असोज २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस