चन्द्रिका चौधरी/ बेलौरी, कञ्चनपुर ।
बेलौरी नगरपालिका–८ का क्यान्सर पीडित मनोज चौधरीलाई ह्वीलचेयर सहयोग गरिएको छ।
साइकराइड क्लब महेन्द्रनगर, कञ्चनपुरका पदाधिकारी तथा सदस्यहरूको सहयोग र समाजसेवी तीर्थराज बोहराको विशेष पहलमा चौधरीलाई ह्वीलचेयर प्रदान गरिएको हो।
श्री जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थी र समाजसेवी बोहराले एक कार्यक्रमबीच चौधरीका परिवारका सदस्यलाई ह्वीलचेयर हस्तान्तरण गरेका थिए।
ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा वडा सदस्य, शिक्षक तथा स्थानीयको उपस्थिति रहेको थियो। सहयोगबाट क्यान्सर पीडित चौधरीको दैनिक आवागमनमा सहजता पुग्ने विश्वास गरिएको छ।
मानवीय सेवाका रूपमा गरिएको उक्त सहयोगले समस्यामा रहेका व्यक्तिलाई राहत पुग्नुका साथै समाजमा सहयोग र सहकार्यको भावना विकास गर्नसमेत योगदान पुग्ने शिक्षक सुरेन्द्रराज बोहराले बताए।
शिक्षक बोहराले आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिन सबैलाई अनुरोध गरेका छन्।
