कञ्चनपुर : वडाध्यक्ष थापाद्वारा ३२ विद्यार्थीलाई विद्यालय पोशाक

होमपेज / विविध / समाचार / स्वास्थ्य/शिक्षा /
कञ्चनपुर : वडाध्यक्ष थापाद्वारा ३२ विद्यार्थीलाई विद्यालय पोशाक
  • रेडियो सुदूर सञ्चार
  • १ असोज २०८३ (२१ घण्टा अघि)
  • १४९

महेन्द्रनगर, कञ्चनपुर

भीमदत्त नगरपालिका–११ स्थित महाकाली जनज्योति आधारभूत विद्यालय, भूजेलाका ३२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाद्वारा विद्यार्थीलाई सर्ट–पाइन्ट तथा टी–सर्ट–ट्राउजरसहितको विद्यालय पोशाक वितरण गरिएको हाे।

पोशाक वितरण गर्दै वडाध्यक्ष थापाले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुभयो। वडा र विद्यालयको सहकार्यमा विद्यार्थीको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले पोशाक वितरण गरिएको उहाँले बताउनुभयो।

विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित भएका थिए। विद्यालयका अनुसार पोशाकले विद्यार्थीमा नियमित विद्यालय आउने वातावरण निर्माण गर्न तथा विद्यालयप्रति अपनत्व बढाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वडाध्यक्ष थापा शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आफ्नो कार्यकालमा विद्यार्थीका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन, छात्रवृत्ति वितरण, शैक्षिक सुधारका कार्यक्रम, खेल तथा खेलाडीलाई प्रोत्साहन लगायत वडाकाे समग्र विकासमा जाेड दिदैँ आएका छन् ।

विद्यार्थी राजनीतिबाट समाज सेवामा प्रवेश गर्नुभएका थापाले वडाको शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयाे।

यसैबीच, आगामी स्थानीय तहको निर्वाचनमा थापालाई भीमदत्त नगरपालिकाको नगर प्रमुखका रूपमा अघि बढाउनुपर्ने धारणा स्थानीयस्तरमा समेत सुनिन थालेको छ।

स्थानीय व्यवसायी राजबहादुर ठकुराठीले युवा नेतृत्वलाई अवसर दिनुपर्ने बताउँदै थापा युवामाझ आशा र भरोसाका रूपमा स्थापित हुँदै गएको दाबी गर्नुभयो।

“युवा पुस्ताको भावना र अपेक्षा बुझ्ने नेतृत्व आवश्यक छ। प्रकाश थापा युवामाझ सक्रिय हुनुहुन्छ। आगामी निर्वाचनमा उहाँलाई भीमदत्त नगरपालिकाको नगर प्रमुखका रूपमा हेर्न चाहन्छौँ,” ठकुराठीले भन्नुभयो।

अन्तिम अध्यावधिक: १ असोज २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस