चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर —
बेलौरी उद्योग वाणिज्य संघले आगामी कार्तिक ९ देखि २० गतेसम्म बेलौरीको खुलामञ्चमा चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला–२०८३ आयोजना गर्ने भएको छ।
बिहीबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको तयारी, उद्देश्य र कार्यक्रमबारे जानकारी दिदै यसपटक भव्य महाेत्सवकाे तयारी भइरहेको जनाएको छ।
महोत्सवमा कृषि तथा औद्योगिक उत्पादनका प्रदर्शनी एवं बिक्री कक्ष, व्यापारिक स्टल, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्री, खाद्यान्न तथा विभिन्न स्थानीय परिकारका स्टलहरु रहनेछन्।
बालबालिकाका लागि बाल उद्यान तथा मनोरञ्जनका गतिविधि सञ्चालन गरिनेछ भने स्थानीय कला, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति रहने आयोजकले जनाएको छ।
स्थानीय कृषि उपजको प्रदर्शनी तथा बजारीकरणलाई समेत प्राथमिकतामा राखिएको छ। कृषक, उद्यमी तथा व्यवसायीलाई आफ्ना उत्पादनको प्रचार–प्रसार र बिक्रीका लागि प्रत्यक्ष अवसर उपलब्ध गराउने संघको तयारी छ। यसबाट स्थानीय उत्पादनको बजार विस्तारसँगै व्यापार–व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
संघका अध्यक्ष प्रकाशराज पन्तले महोत्सवलाई स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाइने बताउनुभयो। उहाँले महोत्सवमार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै बेलौरीको व्यापारिक गतिविधि विस्तार गर्ने उद्देश्य रहेको बताउनुभयो।
अध्यक्ष पन्तले बेलौरी छोटी भन्सारलाई मूल भन्सारका रूपमा विकास तथा प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख एजेन्डामध्ये एक रहेको बताउनुभयो।
छोटी भन्सारको स्तरोन्नति र प्रभावकारी सञ्चालनले सीमावर्ती व्यापार बढाउन तथा स्थानीय बजार र व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ। “बेलौरी छोटी भन्सारलाई मूल भन्सारका रूपमा प्रवर्द्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। भन्सारको स्तरोन्नतिसँगै सीमावर्ती व्यापार विस्तार र स्थानीय व्यवसायको विकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने हाम्रो उद्देश्य हो,” पन्तले भन्नुभयो।
महोत्सवले बेलौरीको पर्यटन सम्भावना प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र मौलिकताको संरक्षणमा समेत योगदान पुर्याउने आयोजकको भनाइ छ। कृषि, उद्योग र व्यापार क्षेत्रका उत्पादन तथा सेवाको प्रदर्शनीमार्फत स्थानीय बजार विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ।
पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीसहित संघका निवर्तमान अध्यक्ष हिरासिंह बिष्ट, पूर्वअध्यक्षद्वय टेकबहादुर साउद र आत्माराम दाहाल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष पन्त, महासचिव रामेश्वर न्यौपाने, निवर्तमान अध्यक्ष हिरासिंह बिष्ट, पूर्वअध्यक्षद्वय टेकबहादुर साउद र आत्माराम दाहाल तथा कार्यसमिति सदस्य तारासिंह बिष्ट लगायतले महोत्सवका विषयमा धारणा राखेका थिए ।
भने, महोत्सव सञ्चालनका लागि आवश्यक तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ।