बेलाैरी, कञ्चनपुर -
IME लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बेलौरीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
कम्पनीले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिकतामा मात्र सीमित नराखी रचनात्मक र मानवीय सेवामूलक बनाउने उद्देश्यले यस अभियानलाई स्थानीयस्तरमा अगाडि बढाएको हो।
IME लाइफ इन्स्योरेन्स बेलौरी शाखाको आयोजनामा यहीँ भाद्र २ गते मंगलबार, बेलौरीस्थित श्री महाकाली बहुमुखी क्याम्पसमा उक्त रक्तदान कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
"A Little From You. A Lifetime for Someone" (तपाईंको सानो सहयोग, कसैको लागि जीवनदान) भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको IME लाइफ इन्स्योरेन्स बेलौरी शाखा प्रमुख प्रदीप तिवारीले बताए।
वार्षिकोत्सवलाई समाजप्रतिको उत्तरदायित्व बहन गर्ने पवित्र अवसरका रूपमा लिँदै रक्तदान कार्यक्रम राखिएको उनको भनाइ छ।
शाखा प्रमुख तिवारीका अनुसार स्थानीयस्तरमा रगतको अभावका कारण कुनै पनि बिरामीले असामयिक कष्ट व्यहोर्न नपरोस् तथा रगतको सहज आपूर्ति हुन सकोस् भन्ने मुख्य ध्येयका साथ कार्यक्रम तय गरिएको हो।,
महाकाली क्याम्पस परिसरमा आयोजना हुने यस कार्यक्रममा विद्यार्थी, प्राध्यापक, स्थानीय युवा, समाजसेवी, बुद्धिजिवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
यस अभियानमार्फत झण्डै एक सयभन्दा बढी व्यक्तिहरूले स्वैच्छिक रक्तदान गर्ने लक्ष्य राखिएको शाखा प्रमुख तिवारीले बताएका छन्।
यस प्रकारका सामाजिक तथा परोपकारी गतिविधिले युवापुस्तामा रक्तदान प्रतिको चेतना अभिवृद्धि गर्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।