बेलाैरी, कञ्चनपुर —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै ‘कन्डिडेट क्लब’मा आवेदन खुला गरेको छ।
जनप्रतिनिधिको भूमिकामा रहेर समाज रूपान्तरण, सुशासन र सार्वजनिक सेवामा योगदान गर्न इच्छुक नागरिकलाई उम्मेदवारी प्रक्रियामा सहभागी गराउने उद्देश्यले पहिलो चरणमा गाउँपालिका र वडा तहका लागि आवेदन खुला गरिएको हो।
रास्वपा सभापति रवि लामिछानेले मंगलबारदेखि कन्डिडेट क्लबमा आवेदन खुला भएको जानकारी दिँदै जनप्रतिनिधिको जिम्मेवारीमा रहेर समाज र सार्वजनिक सेवामा योगदान गर्न इच्छुक नागरिकलाई उम्मेदवारी प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
रास्वपाले कञ्चनपुर जिल्लाका दुई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, ११ वडाका अध्यक्ष र २२ वडा सदस्य पदका लागि इच्छुक नागरिकलाई कन्डिडेट क्लबमार्फत उम्मेदवारी प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
यसअनुसार कञ्चनपुरमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका चार, वडा अध्यक्षका ११ र वडा सदस्यका २२ गरी कुल ३७ पदका लागि आकांक्षीले उम्मेदवारी प्रक्रियामा सहभागी हुन सक्नेछन्।
रास्वपाले उम्मेदवार छनोटलाई पहुँच, प्रभाव वा व्यक्तिगत सम्बन्धका आधारमा नभई वैज्ञानिक, पारदर्शी र वस्तुपरक बनाउन कारक मूल्याङ्कन विधि अपनाएको जनाएको छ।
स्थानीय तहका उम्मेदवार छनोटका लागि पार्टीले सार्वजनिक गरेको रूपरेखाअनुसार उम्मेदवारको मूल्याङ्कन लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचन गरी चार आधारमा हुनेछ।
रास्वपाको स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखाअनुसार लिडरसिप एकेडेमीलाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीलाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत अङ्कभार दिइएको छ।
लिडरसिप एकेडेमी उम्मेदवारको नेतृत्व क्षमता र वैचारिक स्पष्टता परीक्षण गर्ने महत्वपूर्ण चरणका रूपमा राखिएको छ। यसमा प्रशिक्षण तथा मूल्याङ्कनमा सफल हुनेले मात्र आगामी चरणमा प्रवेश पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी, पोलिटिकल प्रोक्सिमिटी अन्तर्गत उम्मेदवारको विगतको राजनीतिक पृष्ठभूमि, साङ्गठनिक आबद्धता, जनसम्बन्ध तथा निर्वाचनमा विजयको सम्भाव्यतालाई वस्तुपरक रूपमा मूल्याङ्कन गरिनेछ।
समावेशितातर्फ १० प्रतिशत अङ्कभार छुट्याइएको छ। संविधानको भावना अनुरूप महिला, दलित, सीमान्तकृत, युवा तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले समावेशितालाई मूल्याङ्कनको छुट्टै आधार बनाइएको हो।
त्यस्तै, पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सदस्यहरूको मताधिकार सुनिश्चित गर्न प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी ४० प्रतिशत अङ्कभार दिइएको छ।
रास्वपाको रूपरेखाअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम कन्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। पालिका र वडा तहका लागि छुट्टाछुट्टै कन्डिडेट क्लब गठन गरिने व्यवस्था गरिएको छ। नयाँ तथा योग्य व्यक्तिलाई समेत राजनीतिक नेतृत्वमा सहभागी गराउने उद्देश्यले विशेष प्रवेश अर्थात् **‘ल्याटरल इन्ट्री’**को व्यवस्थासमेत समेटिएको छ।
उम्मेदवार छनोट प्रक्रियालाई प्रविधिमैत्री र मापनयोग्य बनाउने रास्वपाले जनाएको छ। प्रारम्भिक निर्वाचनमा आधिकारिक एपमार्फत अनलाइन मतदानलाई प्राथमिकता दिने तथा मतदान प्रक्रियालाई सुरक्षित र पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्ने रूपरेखामा उल्लेख छ।
मतदान अवधिभर अन्य चरणको प्राप्ताङ्क गोप्य राख्ने ‘ब्लाइन्ड भोटिङ’ प्रणालीको अवधारणासमेत समेटिएको छ।
पार्टीले उम्मेदवार छनोटमा हुने आर्थिक लेनदेन, गुटबन्दी तथा धाँधलीविरुद्ध शून्य सहनशीलता अपनाउने जनाएको छ। आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारमाथि उम्मेदवारी खारेज गर्नेसम्मको व्यवस्था राखिएको छ।
रास्वपाका अनुसार राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई जनताको विश्वास जितेर सार्वजनिक जिम्मेवारी पूरा गर्ने, स्थानीय समस्या समाधान गर्ने र समुदायको भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हो।
त्यसैले स्वच्छ राजनीति, सुशासन, पारदर्शिता, जवाफदेहिता र समुन्नत समाज निर्माणमा योगदान गर्न चाहने नागरिकलाई नेतृत्वको यात्रामा सहभागी हुन पार्टीले आह्वान गरेको छ।
“परिवर्तनको चाहना छ भने दर्शक बनेर होइन, नेतृत्वको यात्रामा सहभागी भएर अघि बढौँ” भन्ने आह्वानसहित रास्वपाले योग्य, सक्षम, इमानदार, जवाफदेही तथा जनताप्रति प्रतिबद्ध नागरिकलाई कन्डिडेट क्लबमा सहभागी हुन आग्रह गरेको छ।
कञ्चनपुरका सम्बन्धित पदमा उम्मेदवारी दिन इच्छुक नागरिकहरूले पार्टीले तोकेको निर्धारित प्रक्रिया, मापदण्ड र समयसीमाअनुसार कन्डिडेट क्लबमा आवेदन दिई उम्मेदवारी छनोट प्रक्रियामा सहभागी हुन रास्वपा कञ्चनपुरले अनुरोध गरेको छ।