बेलौरीमा रास्वपाको संगठन विस्तार तीव्र, दर्जनौं पार्टी प्रवेश

होमपेज / राजनीति / समाचार /
अरुलाई हेर्‍यौँ पटक–पटक, रास्वपा हेरौँ एकपटक : स्थानीय
बेलौरीमा रास्वपाको संगठन विस्तार तीव्र, दर्जनौं पार्टी प्रवेश
  • निरु चौधरी
  • ६ भदौ २०८३ (२ घण्टा अघि)
  • ७५

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तार अभियानले तीव्रता पाएको छ।

पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी तथा स्वतन्त्र रूपमा रहेका युवाहरू रास्वपामा आबद्ध हुने क्रम बढ्दै गएको पार्टीका नेताहरूले बताएका छन्।

शुक्रबार बेलौरी नगरपालिका–७ मा आयोजित रास्वपाको वडा विस्तारित भेलाका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १३ जना नेता–कार्यकर्ता पार्टी प्रवेश गरेका छन्। उनीहरूसँगै केही स्वतन्त्र युवासमेत रास्वपामा आबद्ध भएको वडा सभापति पदमसिंह धामीले जनाए।

धामीका अनुसार पछिल्लो समय वडामा रास्वपाप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ। संगठन विस्तारसँगै नयाँ सदस्यहरू पार्टीमा जोडिने क्रमसमेत निरन्तर बढिरहेको उनले बताए।

रास्वपा बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपानेले नगरका विभिन्न वडामा संगठन विस्तारका क्रममा पुग्दा युवाहरूको उल्लेख्य सहभागिता देखिएको बताए।

“संगठन विस्तारसँगै रास्वपा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ। हामी दिनरात मैदानमा छाैँ, विभिन्न वडामा पुग्दा युवाहरूको बाक्लो उपस्थिति र पार्टीप्रतिको आकर्षण पनि देखिएको छ,” उनले भने।

यस्तै, कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति वीरेन्द्र शाही ‘विरु’ले संगठन सुदृढीकरण र विस्तारलाई प्राथमिकतामा राखेर पार्टी गतिविधि अघि बढाइरहेको बताए।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडा तहसम्म संगठनलाई थप मजबुत, व्यवस्थित र सक्रिय बनाउने अभियानमा पार्टी केन्द्रित रहेको उनको भनाइ छ।

कार्यक्रममा पार्टीका केन्द्रीय तथा सुदूरपश्चिम प्रदेश विभागदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

भेलामा संगठन विस्तार, पार्टीका आगामी गतिविधि तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफलसमेत भएको नेता तारासिंह विष्टले जनाए।

रास्वपामा प्रवेश गरेका नेता–कार्यकर्ताले पुराना राजनीतिक दलबाट अपेक्षित परिवर्तन हुन नसकेको भन्दै नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपालाई रोजेको बताएका छन्।

उनीहरूले “ अरु सबैलाई हेर्‍यौँ पटक–पटक, अब रास्वपालाई हेरौँ एकपटक” भन्ने भावनाका साथ आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन्।

बेलौरी नगरपालिकामा पछिल्लो समय रास्वपाले वडा तहमा संगठन विस्तार तथा सदस्यता अभियानलाई तीव्रता दिँदै आएको छ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले नगरका सबै वडामा संगठनलाई थप विस्तार, सुदृढ र व्यवस्थित बनाउने अभियान अघि बढाएको जनाएको छ।

अन्तिम अध्यावधिक: ६ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस