प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडिओ बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्नेमाथि कानुनी कारबाही हुने भन्दै सचेत गराएको छ ।
प्रहरीको साइबर ब्युरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाको कृत्रिम फोटो र भिडिओ सिर्जना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्रहत्या गर्ने अभिप्रायले श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो ।
यस किसिमका कार्यमार्फत समाजमा त्रास सिर्जना गर्ने तथा व्यक्तिको चरित्रहत्या गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ । साइबर ब्युरोले विशेषगरी एआईको प्रयोग गरी सिर्जना गरिएका नक्कली फोटो तथा भिडिओलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।
अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्युरोले अनुरोध गरेको छ ।
