पुनर्वास, कञ्चनपुर —
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरू सामूहिक रूपमा बेहोस हुने, छटपटाउने तथा कराउँदै मुर्छा पर्न थालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ। प्रायः दिनहुँजसो घटना बढ्दै गएपछि विद्यालय शिक्षक तथा अभिभावक चिन्तित बनेका छन्।
विद्यालयका प्रधानाध्यापक डिल्ली शर्माका अनुसार समस्या विशेषगरी कक्षा ५ देखि ८ सम्म अध्ययनरत छात्राहरूमा देखिएको छ। उनका अनुसार कक्षा सुरु हुनेबित्तिकै वा पठनपाठन चलिरहेका बेला केही छात्राहरू अचानक छटपटाउने, कराउने, बेहोस हुने तथा मुर्छा पर्ने गरेका छन्।
कतिपय अवस्थामा एक–दुई जनाबाट सुरु भएको घटना केहीबेरमै २० देखि २५ जनासम्म छात्रामा देखिने गरेको छ।
रेडियो सुदूर सञ्चारसँगको टेलिफोन संवादमा प्रधानाध्यापक शर्माले भने, ‘पहिले एक–दुई जनामा मात्रै यस्तो समस्या देखिन्थ्यो। अहिले भने एकैपटक २० देखि २५ जनासम्म छात्रा प्रभावित हुने गरेका छन्। यो समस्या हाम्रो विद्यालयमा नयाँ होइन, धेरै वर्षअघिदेखि बेलाबेलामा देखिँदै आएको हो। पछिल्लो समय यसको आवृत्ति बढेपछि नियमित पठनपाठन सञ्चालन गर्नसमेत कठिनाइ हुन थालेको छ।’
उनका अनुसार समस्या देखिनेबित्तिकै प्रभावित छात्राहरूलाई सुरक्षित स्थानमा सारेर प्राथमिक उपचार गर्ने, अभिभावकलाई खबर गर्ने तथा आवश्यक परे थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने गरिएको छ।
लगातार यस्ता घटना दोहोरिन थालेपछि विद्यालयमा त्रासको वातावरण सृजना छ। कतिपय अवस्थामा कक्षा केही समयका लागि स्थगित गर्नुपर्ने अवस्था आउने गरेको शिक्षकहरूले बताएका छन्।
स्थानीय अभिभावकहरू, ‘आफ्ना नानीहरू घरमा सामान्य अवस्थामा रहने तर विद्यालय पुगेपछि मात्रै यस्तो समस्या देखिने गरेको बताउँछन्।, यद्यपि यसले अभिभावकमा थप चिन्ता बढाएको छ। केही अभिभावकले विभिन्न आशंका व्यक्त गरे पनि घटनाको कारणबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
स्थानीय मनोपरामर्शदाताहरूले भने यो अवस्था ‘मास हिस्टेरिया’ (Mass Hysteria) अर्थात् सामूहिक मनोवैज्ञानिक प्रतिक्रियासँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। उनीहरूका अनुसार विद्यार्थीको स्वास्थ्य अवस्था, मनोसामाजिक पक्ष तथा विद्यालयको वातावरणबारे विशेषज्ञबाट विस्तृत अध्ययन र परीक्षणपछि मात्रै वास्तविक कारण यकिन गर्न सकिन्छ।
प्रधानाध्यापक शर्माले सम्बन्धित निकायले घटनालाई गम्भीर रूपमा लिएर तत्काल आवश्यक पहल गर्नुपर्ने बताए।
उनले भने, ‘विद्यालयले टाउन हस्पिटल संग आवश्यक समन्वय गरेर तत्काल व्यवस्थापन गरिरहेको छ। तर यो विषय विशेषज्ञसँग सम्बन्धित भएकाले चिकित्सक, मनोचिकित्सक, मनोपरामर्शदाता तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीबाट प्रभावित विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, आवश्यक उपचार र मनोसामाजिक परामर्शको व्यवस्था गरिनुपर्छ।’
अभिभावकहरुले घटनाबारे स्थानीय सरकार पुनर्वास नगरपालिका, स्वास्थ्य शाखा र शिक्षा शाखालाई जानकारी गराएको जनाएका छन्।
भने, विद्यालयले पनि विद्यार्थीको स्वास्थ्य सुरक्षा र नियमित पठनपाठनलाई ध्यानमा राख्दै घटनाप्रति गम्भीर भई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गरेको छ।