चितुवाको त्रासले तर्सिएको बेलडाँडी, नियन्त्रणको प्रयास असफल

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ७ साउन २०८२ (१६ घण्टा अघि)
  • ३०२

बेलाैरी, कञ्चनपुर -

मंगलबार बिहान बेलडाँडी गाउँपालिका–२ क्याम्प टोलको उखुबारीमा देखिएको चितुवाले स्थानीयलाई त्रासित बनाएको छ। 

बिहान करिब ७ बजे क्याम्प टोलबाट हुलाकी सडक पार गर्दै स्थानीय गोपाल अधिकारीको उखुबारीमा पसेको चितुवालाई प्रत्यक्षदर्शीहरूले देखेपछि गाउँमा एकाएक भयको वातावरण सिर्जना भएको हो।

चितुवा देखिएको सूचना पाएलगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको थियो। मंगलबार साँझ करिब ५ बजे चितुवा फसाउने उद्देश्यले बाख्रा राखिएको पिजडा उखुबारीमै जडान गरिएको थियो। तर, रातभर पर्खिँदा पनि चितुवा पिजडामा पर्न सकेन।

बुधबार बिहान थप प्रयासस्वरूप तीनवटा हात्ती परिचालन गरी चितुवाको खोजी कार्य अगाडि बढाइएको थियो। सुरक्षाकर्मी, निकुञ्ज कर्मचारी, जनप्रतिनिधि र स्थानीयको सहभागितामा व्यापक सर्च अपरेसन सञ्चालन गरिए पनि चितुवा देखापरेन। स्थिति जटिल बन्दै गएपछि पिजडा समेत हटाइएको हो।

चितुवा हालै जंगलतिर फर्कियो वा गाउँमै कतै लुकेको छ भन्ने निश्चित हुन नसकेको निकुञ्ज स्रोतले जनाएको छ। 

यही अन्योलताबीच बस्तीमा भयको वातावरण अझ चुलिएको छ। यसैकारण गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना र वडा नम्बर २ का अध्यक्ष नारदसिंह उर्यालले बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

जोखिम न्यूनीकरणका लागि प्रहरी गस्तीलाई सक्रिय बनाइएको छ। विशेषगरी हुलाकी सडक, विद्यालय आसपास र घना बस्ती क्षेत्रमा सुरक्षाको निगरानी बढाइएको जनाइएको छ।

यद्यपि, चितुवा नियन्त्रण प्रयासको कार्यशैलीप्रति स्थानीयवासी भने असन्तुष्ट देखिएका छन्। ‘हिजो दिउँसो मात्र एक हात्ती ल्याएर जंगलतिर चितुवा धपाउने अवसर गुमाइयो,’ एक स्थानीयवासीले गुनासो गरे, ‘बेलुका थप दुई हात्ती आए पनि खोजीमा ढिलाइ गरियो। निकुञ्जले समयमै गम्भीर कदम उठाएको भए आज बस्ती यति आतंकित हुने थिएन।’

उनीहरूको आरोप छ— "निकुञ्जको प्रतिक्रिया ढिलो र कमजोर रह्यो। यदि भोलि कसैलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने?"

निकुञ्ज पक्षले भने आफ्नो तर्फबाट सबै सम्भव प्रयास गरिएको दाबी गरेको छ। ‘चितुवाको गतिविधि र अवस्थिति हेरेर जोखिम मूल्याङ्कन गरी पिजडा जडान गरिएको हो,’ टोलीका एक सदस्यले भने, ‘बुधबार बिहान उखुबारी क्षेत्रमा हात्ती पठाउने तयारी गरिए पनि उखु किसानले अनुमति नदिएपछि हामी फर्कन बाध्य भयौं।’

स्थानीयवासीले भने समस्या दोहोरिरहने चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार पछिल्ला केही वर्षदेखि बेलडाँडी क्षेत्रमा चितुवा, बँदेल, बाघ लगायतका जंगली जनावरहरू देखिन थालेका छन्। त्यसका कारण खेतबारी, घर आँगन र बस्तीमा समेत जनावर पसेर जनधनको क्षति हुने क्रम बढ्दो छ।

स्थानीयवासीले भने, ‘सरकार र निकुञ्जले तत्काल दीर्घकालीन रणनीति ल्याएर सुरक्षा सुनिश्चित गर्नुपर्छ।’

जंगली जनावरको आतङ्कले विद्यालय जान डर, खेत जोत्न डर, साँझपख निस्कन डर जस्ता दैनिक क्रियाकलाप नै प्रभावित हुन थालेका छन्।

स्थानीयले माग गरेका छन् कि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सधैं समन्वय हुने स्थायी संयन्त्र बनाइयोस्, वन्यजन्तु नियन्त्रणका प्रविधि र जनशक्ति अभिवृद्धि गरियोस्, र आवश्यक परे पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइयोस्।

जंगली जनावरको आतङ्क न्यूनीकरण राज्यको प्रमुख प्राथमिकता बन्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।

जनताको सुरक्षा, कृषि उत्पादन र बाँच्ने अधिकार सुरक्षित गर्नु सरकारको दायित्व हो भन्ने उनीहरूको ठम्याइ छ।

अन्तिम अध्यावधिक: ७ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस