प्यालेस्टिनी विद्रोही समूह हमासले २ वर्षअघि अर्थात् सन् २०२३ अक्टुबर ७ तारिखमा अपहरण गरेकामध्ये जीवित रहेका बाँकी सबैलाई रिहा गरेको जनाएको छ ।
आज २० जना जीवित बन्धक रेडक्रसमार्फत इजरायललाई बुझाएसँगै आफूसँग रहेका सबै जीवित बन्धकहरू बुझाएको हमासले बताएको हो । हमासले आज मुक्त गरेका सबै इजरायली नागरिक हुन् । उनीहरूले आफन्तसँग भेट गरिसकेका छन् ।
हमासले जीवित रहेका सबै बन्धक मुक्त गरेको बताए पनि नेपालका विपिन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । हमासले उपलब्ध गराएको जीवित र मृतक दुवै सूचीमा नेपालमा जोशीको नाम नरहेको इजरायली सेनाले बताएको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले आज विपिन जोशीका आफन्त र इजरायलमा रहेका नेपाली राजदूत धनप्रसाद पण्डितलाई समूहमा भिडियो कल गरी विपिन जीवित रहेको कुनै प्रमाण फेला नपरेको औपचारिक जानकारी गराएको छ । हमासबाट सूची पाएपछि इजरायली सेनाले जानकारी गराएको हो ।
आफ्ना कब्जामा रहेका ४८ बन्धकमध्ये २६ जनाको ज्यान गइसकेको हमासले जानकारी गराएको छ । जोशीसहित २ जनाको अवस्था थाहा नभएकाे हो ।
सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलयमा गरेको अप्रत्याशित आक्रमणपछि जोशीसहित २ सय ५१ जना अपहरणमा परेका थिए । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीसहित १ हजार २ सय जनाको ज्यान गएको थियो ।
विपिनसहित ज्यान गुमाउने १० जना सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए ।
हमासले बन्धक अवस्थामा ज्यान गुमाएका सबैको शव पनि बुझाउने तयारी गरेको जनाएको छ । सहमति अनुसार इजरायलको हिरासतमा रहेका १ हजार ७ सय प्यालेस्टिनी र २ सय ५० जना कैदी मुक्त हुनेछन् ।