Advertisement
Skip This
ट्रेण्डिङ

बेलाैरी : संविधान चोकको नाम नेपालकाे संविधान ०७२ रहुञ्जेल यथावत् राखिनुपर्ने तीन दलकाे माग

होमपेज / समाचार / समाज /
काँग्रेस, एमाले र माओवादी केन्द्र बेलाैरीकाे संयुक्त ज्ञापन
  • रेडियो सुदूर सञ्चार
  • २३ असोज २०८२ (१ हप्ता अघि)
  • ९५९

निरु चाैधरी / बेलाैरी, कञ्चनपुर -

बेलौरी नगरपालिका–कञ्चनपुरका तीन प्रमुख राजनीतिक दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बेलौरी बजारस्थित ‘संविधान चोक’को नाम नेपालकाे संविधान २०७२ कायम रहुञ्जेलसम्म यथावत् राखिनुपर्ने माग गरेका छन्।

बुधबार बेलौरी नगर प्रमुख पोतीलाल चौधरीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै ती दलहरूले - नेपालकाे संविधान २०७२ कार्यान्वयनमा रहेसम्म र नगरपालिकाबाट कुनै वैकल्पिक निर्णय नआएसम्म ‘संविधान चोक’ नाम परिवर्तन गर्न नहुनेमा जिकिर गरेका छन्।

तीनै दलले—तत्कालीन सत्तारूढ दल नेकपा एमाले, नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले—संविधान चोकको नामकरण नगर परिषद्बाट सर्वसम्मत रूपमा पारित भएको निर्णय भएको स्मरण गराउँदै त्यसमा कसैले पनि अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “बेलौरी बजारको संविधान चोक सबै दलहरूको छलफल र सहमतिको आधारमा तय गरिएको नाम हो। यसलाई राजनीतिक स्वार्थका कारण परिवर्तन गर्न खोजिनु अनुचित कार्य हुनेछ।”

भने, अर्कोतर्फ जेन-जी बेलाैरी तथा समर्थक युवा समूहले संविधान चाेकलाई नै जेन-जी चाेक नामाकरण गरिनुपर्ने अडान लिदै आएका छन्।, 

उनीहरूले शहीदकाे सम्झनामा उक्त चाेककाे नाम GenZ चाेक राखिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । यद्यपि साे विषयमा स्थानीय सरकारले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छैन्।, सके सम्म सहमतिमा जेन-जी चाेकका लागि वैकल्पिक मार्गको खाेजी गर्ने पक्षमा पालिका रहेको जनाइएको छ। 

फरक प्रसंगमा, ज्ञापनपत्र मार्फत दलहरूले नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूको विषयमा कर्मचारी व्यवस्थापन कार्य समिति गठन गरी आवश्यक मूल्यांकनपछि यथाशीघ्र व्यवस्थापन र कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

साथै नगर भित्रका अधुरा योजना, शिक्षा, स्वास्थ्य, सडक तथा विकास निर्माणका कामहरू शीघ्र सुचारु गर्न समेत माग गरिएको छ।

दलहरूले सरसफाइका क्षेत्रमा सुधार गर्न विहान ६ देखि ८ बजेसम्म सरसफाइ कर्मचारीहरूलाई परिचालन गरी स्वच्छ बेलौरी निर्माणमा जोड दिन पनि सुझाव दिएका छन्।

ज्ञापनपत्रमा हाल बेलौरीमा सक्रिय GenZ का नाममा विभिन्न दलका व्यक्तिहरुले अनावश्यक टिप्पणी र गतिविधि गर्दै आएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उनीहरूले परिपक्वता र सामाजिक जिम्मेवारीका साथ कार्य गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा नेपाली कांग्रेसका नगर परिषद् सदस्य पेपुराम चौधरी, नेकपा एमालेका नगर अध्यक्ष नवराज शाही र नेकपा माओवादी केन्द्रका अध्यक्ष लालबहादुर चौधरीको संयुक्त हस्ताक्षर रहेको छ।

तीनै दलले संयुक्त रूपमा जारी गरेको अपीलमा भनिएको छ,
“सम्पूर्ण बेलौरीवासी, सबै राजनीतिक दलका जिम्मेवार व्यक्ति, युवा पुस्ता, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, समाजसेवी र बुद्धिजीवीहरू मिलेर एकताको भावनासहित समृद्ध बेलौरी निर्माण अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गर्दछौं।”

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख पोतीलाल चौधरीले भने, “दलहरूले प्रस्तुत गर्नुभएका मागहरूमा पालिकाले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनकाे दिशामा अघि बढ्नेछ।” 

अन्तिम अध्यावधिक: २४ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस