किशोर तामाङ / पुनर्वास, कञ्चनपुर —
पछिल्ला दिनहरूमा डेंगु संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएपछि कञ्चनपुरको पुनर्वास नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सुरु गरेको छ।
नगरभित्र डेंगु संक्रमण उच्च दरमा देखिन थालेपछि पुनर्वास नगरपालिकाले जनस्वास्थ्य सुदृढीकरण र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियानको थालनी गरेको हो।
नगरपालिकाको जनस्वास्थ्य शाखाले डेंगु फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टेले अण्डा पार्ने सम्भावित स्थानहरू पहिचान गरी नष्ट गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।
अभियान अन्तर्गत नगरका प्रभावित क्षेत्रहरूलाई केन्द्रबिन्दु बनाएर घरदैलो सफाइ, स्थायी तथा अस्थायी पानीका स्रोतहरूको निरीक्षण, र लामखुट्टे फुल्ने सम्भावित वस्तुहरूको व्यवस्थापन गरिएको छ।
शनिबार पुनर्वास नगरपालिका–४ को कोटिहोम क्षेत्रका सडक छेउछाउ, मन्दिर परिसर, विद्यालय वरिपरि र घर–घरमा गएर लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने कार्य सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिए।
उनका अनुसार, “नगर क्षेत्रमा वर्षाको पानी जम्ने ठाउँ, बोतल, थोत्रो टायर, मट्टीतेलका खाली ड्रम, टिनका भाँडा, गमला, र पानीका ट्यांकीहरूमा लामखुट्टे फुल्ने सम्भावना बढी हुने भएकाले ती स्थानमा विशेष ध्यान दिइएको छ।”
खडकाका अनुसार एडिस जातको पोथी लामखुट्टे विशेषगरी दिउँसो टोक्ने गर्छ र यसले सफा पानी जमेको ठाउँमा अण्डा पार्ने गर्छ। लामो समयसम्म स्थिर रहेको पानीमा अण्डा राख्ने बानीका कारण विद्यालय, कार्यालय, घरआँगन र मठमन्दिर परिसरहरू समेत जोखिममा पर्ने गरेको उनले बताए।
डेंगु संक्रमण रोकथामका लागि नगरपालिकाले सशस्त्र प्रहरी बल आमताल टोली, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, र स्थानिय युवाहरूलाई समेत परिचालन गरेको छ।
अभियानमा सहभागी टोलीले घरघरमा गएर सरसफाइ सम्बन्धी सन्देश दिँदै, लामखुट्टे फुल्न सक्ने वस्तुहरू तत्काल हटाउने कार्य गरिरहेको छ।
नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरवासीलाई डेंगुको जोखिमबाट जोगाउनका लागि समुदायस्तरमै चेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको बताइन्। उनले भनिन्, “नगरका सबै वडामा लामखुट्टेको लार्भा नष्ट गर्ने र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्य निरन्तर सञ्चालन हुनेछ। यस अभियानमा समुदायको सक्रिय सहभागिता अनिवार्य छ।”
डेंगु संक्रमणको प्रमुख लक्षणहरूबारे जानकारी दिँदै स्वास्थ्यकर्मीहरूले अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशी र जोर्नी दुख्नु, वाकवाकी र बान्ता हुने, र शरीरमा रातो डाबर देखा पर्नु जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।
त्यसैगरी, डेंगुबाट बच्न झुल लगाएर सुत्ने, घर वरिपरि सरसफाइ राख्ने, भाँडा–कुँडामा लामो समयसम्म पानी जम्न नदिने, र अँध्यारा ठाउँमा सरसफाइ गर्ने जस्ता व्यवहारिक सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत खडकाले थपे, “डेंगु नियन्त्रण सजिलो छैन, यदि समुदायले ध्यान दिएन भने स–साना बेवास्ताले ठूलो जोखिम निम्त्याउँछ। हरेक घर, विद्यालय र कार्यालयले ‘खोज र नष्ट गर’ अभियानलाई आफ्नो दैनिकीको हिस्सा बनाउनुपर्छ।”
पछिल्ला तथ्यांक अनुसार, पुनर्वास नगर क्षेत्रका विभिन्न वडामा डेंगु संक्रमित बिरामीहरू बढ्दो क्रममा छन्। स्वास्थ्य शाखाले निरन्तर निगरानी राख्दै समुदायस्तरमा संक्रमण रोकथाम र सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।
नगर प्रमुख तथा उपप्रमुखको अगुवाइमा सञ्चालन भइरहेको ‘लामखुट्टे खोज र नष्ट गर’ अभियानलाई पुनर्वासवासीले सकारात्मक रूपमा लिएका छन्। स्थानीय बासिन्दा रेखा चौधरीले भनिन्, “हाम्रो टोलमा आजै टोली आइपुग्यो। घरआँगन सफा गर्न सबैले सहयोग गरेका छन्। यस्तो अभियान निरन्तर चलिरहोस् भन्ने हाम्रो चाहना हो।”
यसरी पुनर्वास नगरपालिकाले सुरु गरेको यो अभियान डेंगु नियन्त्रणतर्फ एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ। नगरपालिकाले आगामी सातादेखि अन्य वडामा पनि यस अभियानलाई क्रमिक रूपमा विस्तार गर्ने तयारी गरेको छ।