शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या साढे सात गुणाले वृद्धि, व्यवस्थापनमा चुनौती

होमपेज / पर्यटन / समाचार /
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या साढे सात गुणाले वृद्धि, व्यवस्थापनमा चुनौती
  • रेडियो सुदूर सञ्चार
  • १ साउन २०८३ (७ घण्टा अघि)
  • ७४

बेलाैरी, कञ्चनपुर -

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसार (ब्ल्याकबक) को सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।

स्थानान्तरण गरेर संरक्षण सुरु गरेको करिब एक दशकपछि कृष्णसारको सङ्ख्या प्रारम्भिक ४२ बाट बढेर ३१३ पुगेको छ। तर सङ्ख्या तीव्र रूपमा बढेसँगै व्यवस्थापन, संरक्षण तथा आनुवंशिक विविधता जोगाउने चुनौतीसमेत थपिएको निकुञ्जले जनाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार हाल हिरापुर संरक्षण क्षेत्रमा ८१ वयस्क भाले, २० अर्धवयस्क भाले, १०२ वयस्क पोथी, २६ अर्धवयस्क पोथी र ८४ बच्चासहित कुल ३१३ वटा कृष्णसार रहेका छन्। सन् २०१२ मा विभिन्न स्थानबाट स्थानान्तरण गरी ४२ वटा कृष्णसारलाई हिरापुर क्षेत्रमा छाडिएको थियो।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार कृष्णसार संरक्षणका लागि छुट्याइएको क्षेत्रको क्षमताभन्दा सङ्ख्या बढेकाले व्यवस्थापनमा कठिनाइ देखिन थालेको छ।

“संरक्षण क्षेत्र साँघुरिँदै गएको छ,” वाग्लेले भन्नुभयो, “एउटै क्षेत्रमा निरन्तर प्रजनन हुँदा आनुवंशिक विविधता कमजोर हुने, रोग फैलिने र आहार व्यवस्थापनमा समेत समस्या देखिन सक्छ।”

हाल हिरापुर क्षेत्रमा ६० हेक्टर क्षेत्रफल तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ। वाग्लेका अनुसार कम्तीमा १०० हेक्टर क्षेत्रफल भए संरक्षण र व्यवस्थापन अझ प्रभावकारी हुने थियो।

शुक्लाफाँटामा कृष्णसार पुनःस्थापनाको अभियान स्थानीय इतिहासलाई आधार मानेर सुरु गरिएको हो। १९६० को दशकमा हिरापुर क्षेत्रमा कृष्णसार देखिएको स्थानीय भनाइपछि यहाँको वातावरण उनीहरूका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको थियो।

त्यसपछि पहिलो चरणमा सदर चिडियाखानाबाट ६ र नेपालगञ्ज मिनी चिडियाखानाबाट २२ गरी २८ वटा कृष्णसार ल्याएर हिरापुरमा छाडिएको थियो। सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार स्थानान्तरण गरिएपछि संरक्षण कार्यक्रमले थप गति लिएको थियो।

निकुञ्जका अनुसार अहिले बढ्दो सङ्ख्यालाई व्यवस्थापन गर्न अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भावित स्थानको अध्ययन गरिरहेको जनाइएको छ।

“विभागले उपयुक्त स्थान तय गरेपछि कृष्णसार स्थानान्तरण गरिनेछ,” वाग्लेले भन्नुभयो। “पर्यटन प्रवर्द्धनसँग जोडेर चितवनको राप्ती नगरपालिकाले पनि १८ वटा कृष्णसार लैजाने प्रक्रिया अघि बढाएको छ, जुन आगामी छ महिनाभित्र सम्पन्न हुने अपेक्षा छ।”

नेपालमा १९७० को दशकतिर कृष्णसार लोप भइसकेको अनुमान गरिएको थियो। तर १९७५ मा बर्दियाको खैरापुर क्षेत्रमा पुनः कृष्णसार भेटिएपछि संरक्षण, प्रजनन तथा स्थानान्तरण कार्यक्रम सुरु गरिएको थियो।

शुक्लाफाँटामा प्राप्त सफलताले दुर्लभ वन्यजन्तु संरक्षणमा नेपालको प्रयास प्रभावकारी रहेको देखिए पनि बढ्दो सङ्ख्यासँगै दीर्घकालीन व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

अन्तिम अध्यावधिक: १ साउन २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस