बेलाैरी, कञ्चनपुर -
कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय २४ वटा मुद्दा फैसला गर्दै जरिवानाबापत पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
अदालतका अनुसार गत आर्थिक वर्षमा जरिवानाबापत ५ करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो।
विगतका वर्षहरूबाट विभिन्न प्रकृतिका मुद्दामा ३० करोड १४ लाख ९७ हजार ३१२ रुपैयाँ जरिवाना बक्यौता रहेकामा त्यसको उल्लेखनीय हिस्सा असुल गर्न सफल भएको अदालतले जनाएको छ।
हाल पनि २५ करोड १ लाख ४५ हजार ४०५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ। कैद सजाय कार्यान्वयनतर्फ पनि अदालतले ३४.३३ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।
देशभरकै अदालतमध्ये मुद्दा फर्स्योटमा उत्कृष्ट नतिजा हासिल गरेका जिल्ला न्यायाधीश राजेन्द्रसिंह भण्डारीले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गर्न सफल भएको बताउनुभयो।
कञ्चनपुर जिल्ला अदालतका तहसिलदार नारायणदत्त ओझाले फैसला भएका मुद्दामा जरिवाना तोकिएका व्यक्तिबाट रकम असुली कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिनुभयो।
अदालतका श्रेस्तेदार जनकप्रसाद शर्माका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो वर्षबाट सरेका ६८८ र नयाँ दर्ता भएका १ हजार ५२० गरी कुल २ हजार २०८ मुद्दामध्ये १ हजार ५२४ मुद्दा फैसला गरिएको छ। अदालतले १ हजार ४११ मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा ११३ मुद्दा बढी फर्स्योट गरेको हो।
हाल ६८४ मुद्दा फर्स्योट हुन बाँकी छन्। तीमध्ये १८ महिनाभित्रका ६६१ र १८ महिना नाघेका २३ मुद्दा रहेका छन्। दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी नरहेको अदालतले जनाएको छ।
न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासबाट १ हजार ११, न्यायाधीश सूर्यप्रसाद भण्डारीको इजलासबाट ४९७ तथा न्यायाधीश आत्मदेव जोशीको इजलासबाट १६ मुद्दा फैसला भएका थिए।
न्यायाधीश राजेन्द्रसिंह भण्डारीले कञ्चनपुर जिल्ला अदालतमा भौतिक पूर्वाधारको अभाव प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गरी तीनवटा इजलाससहित आधुनिक अदालत भवन र आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उत्कृष्ट कर्मचारी र प्रहरी सम्मानित
यसैबीच, कञ्चनपुर जिल्ला अदालतले न्याय सम्पादन तथा फैसला कार्यान्वयनमा उत्कृष्ट योगदान पुर्याउने अदालतका कर्मचारी र नेपाल प्रहरीका अधिकृत तथा जवानलाई सम्मान गरेको छ।
अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने नायब सुब्बा रुद्रप्रसाद बोगटी, अधिकृत लक्ष्मण चपाई, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरी, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत, मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा, प्रहरी नायब निरीक्षक भानबहादुर चन्द, अदालतमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जमनसिंह भाट तथा प्रहरी सहायक हवल्दार नरेन्द्रबहादुर रानालाई सम्मान गरिएको हो।
अदालतका कर्मचारीलाई जनही ५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो भने प्रहरी अधिकृत तथा कर्मचारीलाई प्रमाणपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो।
न्यायाधीशद्वय राजेन्द्रसिंह भण्डारी र सूर्यप्रसाद भण्डारीले सम्मान प्रदान गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा प्रहरीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।