चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ४ हजार दुईसय भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।
पार्टी केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्यांकमा ४ हजार २ सय १० प्रतिनिधि रहने अनुमान गरिएको छ।
संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार देशभरबाट ३ हजार ८ सय १० प्रतिनिधिको प्रारम्भिक सूची तयार भएको छ भने २५ देशका प्रवास सम्पर्क विभागबाट करिब दुईसय प्रतिनिधि थपिनेछन्।
सभापतिले मनोनयन गर्ने दुईसय प्रतिनिधि सहित अन्तिम संख्या अझ बढ्न सक्ने बताइएको छ।
प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा बढी ७ सय ९० प्रतिनिधि रहनेछन् भने मधेशबाट ६ सय ३०, सुदूरपश्चिमबाट ५ सय ५०, कोशीबाट ५ सय २०, लुम्बिनीबाट ४ सय ९०, गण्डकीबाट ४ सय ७० र कर्णालीबाट ३ सय ६० प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा हुने तथा बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने कार्यक्रम तयभएकाे छ।
भने पार्टी सभापति रवि लामिछाने सहित शीर्ष नेताहरू यतिबेला भरतपुर चितवन पुगिसकेका छन्।