चन्द्रिका चौधरी / बेलौरी, कञ्चनपुर-
बेलौरी नगरपालिका कृषि विकास शाखाले कृषि उत्पादन वृद्धि तथा कृषिको यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १ सय ७६ जना किसानलाई कृषि मेसिनरी औजार वितरण गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा शाखाले नगरका १० वटै वडाका किसानलाई उनीहरूको मागका आधारमा कृषि उपकरण वितरण गरेको हो।
नगरप्रमुख पोतीलाल चौधरीले कृषि उत्पादन वृद्धि, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले कृषिमा यान्त्रीकरण कार्यक्रमअन्तर्गत उपकरण वितरण गरिएको जानकारी दिए।
उनले नगरपालिकाले विगतदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
बेलौरी कृषि शाखाका अनुसार २ हर्सपावरका ९२ वटा सिँचाइ मोटर, ८ हर्सपावरका १७ वटा मोटर, १० वटा मिनी पावर टिलर, ५ वटा रोटाभेटर, १० वटा कल्टिभेटर, १० वटा पावर टिलर, २ वटा सुगरक्यान मल्चर, २ वटा राजाहल, २ वटा रिपर, ३ वटा पावर स्प्रे, ५ वटा कम्बाइन मिल, २ वटा चारचक्के पावर टिलर, १ वटा मड ह्विल(cage wheel), १ वटा लेजर ल्यान्ड लेभलर, ९ वटा रेजर र ५ वटा ट्रेन्चर गरी विभिन्न कृषि उपकरण १७६ जना किसानलाई वितरण गरिएको हो।
नगरप्रमुख चौधरीले वितरण गरिएका उपकरणले किसानलाई खेतीपाती गर्न सहज हुनुका साथै उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने नगरपालिकाको लक्ष्य पूरा गर्न किसानसँग सहकार्य गर्दै आवश्यक कार्यक्रम सञ्चालन गरिने बताए।
बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले किसानको उत्पादन लागत घटाई कृषि उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी तथा औजार वितरण कार्यक्रम सञ्चालन गरिएको बताए। उनले आधुनिक कृषि प्रविधि र यान्त्रीकरणको प्रयोगबाट किसानको श्रम, समय र खर्च बचत हुने तथा उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरे।
कृषि उपकरण प्राप्त गरेका किसानहरूले आधुनिक उपकरणको प्रयोगबाट श्रम, समय र लागत घट्ने तथा खेतीपाती थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
उपकरण वितरण कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, कृषि शाखाका प्रतिनिधि, किसान तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।