जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा सञ्चालित ‘कञ्चनपुर जिल्ला स्कुल क्रिकेट च्याम्पियनसिप ०८३ को उपाधि वात्सल्य विद्या निकेतन बेलौरीले जितेको छ।
साेमबार भीमदत्त नगरको तिलकेनीस्थित श्री होली फ्यामिली इङ्लिस मिडियम स्कुलको खेल मैदानमा सम्पन्न फाइनल खेलमा घरेलु टोली होली फ्यामिलीलाई ३५ रनले पराजित गर्दै वात्सल्य च्याम्पियन बनेको हो ।
प्रतियोगितामा सहभागी कुल १६ टोलीहरूलाई पछि पार्दै लगातार ५ खेल जितेर अपराजित रहेको वात्सल्य यस जितसँगै सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताका लागिसमेत छनोट भएको प्रिन्सिपल लक्ष्मण दियालले जनाए।
मानव र हिमालको उत्कृष्ट प्रदर्शन
उपाधि भिडन्तमा वात्सल्य विद्या निकेतनका मानव विष्टले ४ चौका र १ छक्काको मद्दतले ६१ रनको सानदार इनिङ्स खेले । उनी फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए । त्यस्तै टोलीका कप्तान हिमाल पन्तले २३ रन जोड्नुका साथै २ विकेट लिए । बलिङतर्फ वात्सल्यका धीरेन्द्रराज विष्टले ३, अञ्जित धामीले २ र आयुष भट्टले २ विकेट लिएपछि होली फ्यामिली लक्ष्यभन्दा ३५ रन पछाडि नै समेटियो ।
विधागत पुरस्कारमा वात्सल्यकै वर्चस्व
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका वात्सल्यका खेलाडीले अधिकांश विधागत पुरस्कारहरूमा समेत कब्जा जमाए । वात्सल्यका कप्तान हिमाल पन्त प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भए ।
पन्तले ब्याटिङतर्फ एक अविजित शतक सहित कुल १ सय ७९ रन बनाएर ‘उत्कृष्ट ब्याटर’ र बलिङतर्फ १.८१ को किफायती इकोनोमी रेटमा १४ विकेट लिँदै ‘उत्कृष्ट बलर’ को उपाधिसमेत आफ्नो नाम गरे । पन्त गत वर्ष २०८२ मा महेन्द्रनगरमा आयोजित १६ वर्षमुनिको विद्यालय लिगका पनि सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।
त्यस्तै, वात्सल्यकै धीरेन्द्रराज विष्ट ११ विकेटसहित प्रतियोगिताको दोस्रो बढी विकेट लिने बलर र मानव विष्ट २ अर्धशतकसहित कुल १ सय ४७ रन बनाएर दोस्रो बढी रन बनाउने ब्याटर बने ।
टोलीका अञ्जित धामीले ६ विकेट, अनुप जोशीले ५ विकेट र आयुष भट्टले ५ विकेट लिँदै ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट योगदान गरेको प्रिन्सिपल दियालले बताए।
जेठ २५ गतेदेखि असार १ गतेसम्म सञ्चालित उक्त प्रतियोगिताको समापन पश्चात् विजेता टोली तथा विद्यालय प्रशासनले उदीयमान खेलाडीहरूलाई खेल प्रतिभा देखाउने मञ्च प्रदान गरेकोमा आयोजक प्रति आभार प्रकट गरिएका छन् ।
साथै, उपविजेता विद्यालय होली फ्यामिली, खेल पदाधिकारी तथा समर्थकहरूलाई बधाई एवं धन्यवाद ज्ञापन गरिएको थियो।