गोरखापत्र संस्थानको महाप्रबन्धकमा वरिष्ठ पत्रकार रावल नियुक्त

होमपेज / मुख्य समाचार / समाचार /
गोरखापत्र संस्थानको महाप्रबन्धकमा वरिष्ठ पत्रकार रावल नियुक्त
  • शीतल भट्ट
  • १८ असार २०८३ (५ घण्टा अघि)
  • ९७

शीतल भट्ट / कञ्चनपुर -

नेपाल सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा वरिष्ठ पत्रकार हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार क्षेत्रको लामो अनुभव, व्यावसायिक दक्षता तथा नेतृत्व क्षमताका आधारमा रावललाई संस्थानको कार्यकारी नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

विगत करिब २५ वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका रावल सुदूरपश्चिमका एक वरिष्ठ अनुभवी सञ्चारकर्मी हुन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध रहँदै उनले खोजमूलक, जनउत्तरदायी तथा विकासमुखी पत्रकारितामार्फत आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन्।

पत्रकार रावलले एभिन्युज टेलिभिजन, न्युज २४ टेलिभिजन तथा ग्यालेक्सी फोरके टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए।

पछिल्लो समय उनी बीबीसी नेपाली सेवासँग आबद्ध रहेर पत्रकारितामा सक्रिय थिए। भने नेपाल–भारत पत्रकार संघका पूर्व अध्यक्षसमेत रहेका रावलले अंग्रेजी तथा आमसञ्चार विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।

विशेषगरी सुदूरपश्चिमका जनजीविका, सीमावर्ती क्षेत्रका समस्या, विकास निर्माण, सुशासन, सामाजिक न्याय तथा राजनीतिक गतिविधिलाई राष्ट्रिय सञ्चारको मूल प्रवाहमा स्थापित गराउन उनले उल्लेखनीय भूमिका खेलेका छन्।

तथ्यमा आधारित, निष्पक्ष र उत्तरदायी पत्रकारिताप्रतिको उनको प्रतिबद्धताले उनलाई नेपाली पत्रकारिताका विश्वासिला र सम्मानित व्यक्तित्वका रूपमा स्थापित गरेको छ।

महाप्रबन्धक नियुक्तिका लागि सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो। योग्यता, अनुभव, कार्ययोजना, नेतृत्व क्षमता तथा प्रस्तुतीकरणका आधारमा उत्कृष्ट उम्मेदवार चयन गरेको हाे।

सोही प्रक्रियाबाट छनोट भएका उम्मेदवारहरूमध्ये मन्त्रिपरिषद्ले रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ।

रावलको नियुक्तिलाई सुदूरपश्चिम प्रदेशका सञ्चारकर्मी, बुद्धिजीवी तथा नागरिक समाजले गौरवको विषयका रूपमा लिएका छन्।

लामो पत्रकारिता अनुभव, व्यावसायिक दक्षता र संस्थागत नेतृत्व क्षमताका कारण उनको नेतृत्वमा गोरखापत्र संस्थानले सार्वजनिक सञ्चारको विश्वसनीयता, सम्पादकीय सुदृढीकरण, डिजिटल रूपान्तरण तथा संस्थागत विकासमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

रावलको नियुक्तिसँगै नेपाली पत्रकारिताको इतिहास बोकेको गोरखापत्र संस्थानले अनुभवी र व्यावसायिक नेतृत्व प्राप्त गरेको टिप्पणी सञ्चार क्षेत्रका जानकारहरूले गरेका छन्।

भने, उनी नेतृत्वमा आएपछि संस्थानको प्रभावकारिता, विश्वसनीयता र सार्वजनिक सेवा पत्रकारिताले थप गति लिने विश्वास व्यक्त गरिएको छ।

अन्तिम अध्यावधिक: १८ असार २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस