कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कञ्चनपुरको बेलौरीस्थित सुदूरपश्चिम प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था महाकाली बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग प्रदान गरेको छ।
क्याम्पसको भौतिक पूर्वाधार सुधार तथा बाह्य फूल बगैंचा सौन्दर्यकरणका लागि बैंकले रु. १,५०,०००/- (एक लाख पचास हजार रुपैयाँ) आर्थिक सहयोग गरेको हो।
शुक्रबार क्याम्पसमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक हिमाल श्रेष्ठ र स्थानीय बैंकका प्रतिनिधिहरूले उक्त रकम बराबरको चेक महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।
बैंकबाट प्राप्त यो सहयोग रकम क्याम्पस परिसरभित्रको बगैँचा व्यवस्थापन तथा सुरक्षित रेलिङ निर्माण कार्यमा उपयोग गरिने क्याम्पस प्रशासनले जनाएको छ।
चेक ग्रहण गरेपश्चात आफ्नो धारणा राख्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टले बैंकिङ क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
अध्यक्ष विष्टले भने, "त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस महाकाली बहुमुखी क्याम्पस सुदूरपश्चिम क्षेत्रकै विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि उच्च शिक्षाको मुख्य केन्द्र रहँदै आएको छ। सरकारी तथा सामुदायिक प्रयासबाट सञ्चालित यस्ता संस्थाहरूको चौतर्फी विकासका लागि राज्यका विभिन्न निकाय र बैंकिङ क्षेत्रको सहयोग अपरिहार्य हुन्छ।
कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बुझेर क्याम्पसको बगैँचा तथा भौतिक पूर्वाधार सुधारका लागि जुन सहयोग गरेको छ, यसले क्याम्पसलाई थप व्यवस्थित र सुरक्षित बनाउन ठूलो टेवा पुग्नेछ। आगामी दिनहरूमा पनि बैंकसँगको यो सहकार्य अझ मजबुत बन्दै जाने हामीले विश्वास लिएका छौँ।"
क्याम्पसमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षक, कर्मचारी, बैंकका स्थानीय प्रतिनिधि तथा शिक्षाप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
बैंकले पुर्याएको यस प्रकारको सहयोगले क्याम्पसको बाह्य वातावरण मात्र नभई विद्यार्थीहरूका लागि सुरक्षित र आकर्षक शैक्षिक वातावरण निर्माणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।