बेलौरी, कञ्चनपुर ।
बेलौरी नगरपालिका–४ कृषि विकास बैंकदेखि नयाँ रिछाहासम्मको सडक निर्माण अलपत्र भएपछि स्थानीय आन्दोलित बनेका छन्।
तत्काल सडक पुनर्निर्माणको माग राख्दै स्थानीयले सामूहिक हस्ताक्षरसहित बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीलाई बुधबार ज्ञापनपत्र बुझाएका हुन्।
स्थानीयका अनुसार ढल निर्माणका लागि सडक भत्काइएपछि हालसम्म पुनर्निर्माण नगरिँदा सडक जीर्ण र जोखिमपूर्ण बनेको छ।
गर्मीमा धुलाम्य र वर्षामा हिलाम्मे हुने समस्याले पैदलयात्री तथा सवारी चालकले निकै सास्ती खेपिरहेका छन्। सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय फकिर चन्द रानाकाे भनाइ छ।
ज्ञापनपत्र बुझाइएपछि बुधबार दिउँसो बेलौरी नगरपालिका कार्यालयमा सरोकारवालाबीच झन्डै दुई घण्टा लामो छलफल भएको थियो।
छलफलमा नगर प्रमुख पोतीलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय महेन्द्रनगरका सब–इन्जिनियर युवराज बजगाई र अंगत थापामगर सहभागी थिए।
भने, ठेकेदार र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख वीरेन्द्र कडेलसँग भने टेलिफोनमार्फत संवाद गरिएको थियो। स्थानीयको तर्फबाट युवा अभियन्ता धर्मेन्द्र गिरीसहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा धर्मेन्द्र गिरीले सडक निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित ठेकेदार र निकायलाई तत्काल काम सुरु गर्न आग्रह गरे। उनले अब पनि काम सुरु नभए स्थानीय आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
उता नगर प्रमुख चौधरीले खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख कडेलसँग टेलिफोन संवाद गर्दै सात दिनभित्र निर्माण कार्य सुरु गर्न कडा निर्देशन दिएका छन्।
जनताले लामो समयदेखि सास्ती खेपिरहेको उल्लेख गर्दै मेयर चाैधरीले थप ढिलाइ स्वीकार्य नहुने बताए।,
जवाफमा प्रमुख कडेलले एक साताभित्र ठेकेदारलाई काममा फर्काएर निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्।
सब–इन्जिनियर युवराज बजगाई "ठेकेदारले विभिन्न बहाना बनाएर काममा ढिलाइ गरिरहेको बताउँदै आवश्यक पत्राचारमार्फत ताकेता गरिने बताए।
स्थानीयले भने विगतमा पटक–पटक आश्वासन मात्रै पाएको भन्दै अब कामको परिणाम हेर्न चाहेको बताएका छन्। उनीहरूले आगामी असार ७ गते भित्र सडक आवागमन योग्य बनाइनुपर्नेमा जोड दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत जोशीले जनताको समस्या समाधान गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै तोकिएको अवधिभित्र निर्माण कार्य सुरु नभए सम्बन्धित निकाय तथा निर्माण व्यवसायीविरुद्ध आवश्यक कारबाहीका लागि सिफारिस गरिने चेतावनी दिए।
ज्ञापनपत्रमा तुलाराम भट्ट, धर्मसिंह तमोली, दानसिंह बिष्ट, तीर्थराज भट्ट, सन्तोष भट्ट, राजेन्द्र पाण्डे, हिमा देवी शाह, नवराज भट्ट, भुवनबहादुर भण्डारी, ओमप्रकाश भट्ट, रमेश तमोली, सीता भट्ट, लिला चन्द, पार्वतीदेवी भट्ट, प्रविण चन्द, अनिश बिष्ट, विवेक साउँद, खडानन्द रेग्मी, मञ्जरी क्षेत्री, भविष्या बिष्ट, ललिता साउँद, सावित्रीदेवी जैसी, प्रेमलाल अर्याल, धनीराम चौधरी, सोनी चौधरी, कल्पना चौधरी, छत्रलाल जैसी, महिमा चौधरी, जुगराम चौधरी, हरिना देवी भट्ट, शुकदेव चौधरी, रविना चौधरी, राजन राना, सुर्जिन सिंह राजा, कमला विष्ट, सुनिता बोहरा, दीपिका भट्ट, रक्षा विष्ट, तनुजा जोहरा, सुनिता पुजारा, देवबहादुर चन्द, प्रकाश राना, दीपेश भट्ट, तिलक चौधरी, रामी चन्द, लोकराज भट्ट, सीता विष्ट, शकुन्तला साउँद, योगेन्द्र भट्ट, रामप्रसाद चौधरी, बुद्धिराम चौधरी, तेजी भट्ट, मोहन विष्ट र धमेन्द्र गिरीलगायतका ५० भन्दा बढी स्थानीयको हस्ताक्षर रहेको छ।
ज्ञापनपत्रमा उचित समयभित्र सडक मर्मत तथा पुनर्निर्माणको काम अघि नबढाइए र त्यस अवधिमा कुनै दुर्घटना भए त्यसको सम्पूर्ण नैतिक तथा कानुनी जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उल्लेख गरिएको छ।
माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी दिने तथा आवश्यक परे तालाबन्दी र चक्काजामसहितका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी स्थानीयले दिएका छन्।
दुई वर्षदेखि अलपत्र रहेको सडक निर्माणको काम सात दिनभित्र सुरु हुने सम्बन्धित निकायको प्रतिबद्धतापछि स्थानीयले अब आश्वासनभन्दा परिणामको अपेक्षा गरेका छन्।