कञ्चनपुर : रास्वपा सभापतिमा विष्ट र उप-सभापतिमा वडाल र सचिवमा चन्द निर्वाचित

होमपेज / राजनीति / समाचार /
क्षेत्रीय सभापतिमा शाही र खड्का निर्विरोध !
कञ्चनपुर : रास्वपा सभापतिमा विष्ट र उप-सभापतिमा वडाल र सचिवमा चन्द निर्वाचित
  • शीतल भट्ट
  • २५ जेठ २०८३ (१२ घण्टा अघि)
  • १५८

कञ्चनपुर -

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट पदम विष्ट पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनबाट विष्ट लगातार तेस्रो पटक जिल्ला नेतृत्वमा चयन भएका हुन्।

आइतबार सम्पन्न निर्वाचनमा सभापति पदका लागि विष्ट र निवर्तमान कोषाध्यक्ष नवीन चन्दबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचन समितिका अनुसार विष्टले १ सय ९७ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी चन्दले ६१ मत मात्रै प्राप्त गरेका थिए। विष्ट १ सय ३६ मतान्तरले विजयी बनेका हुन्।

त्यसैगरी सचिव पदमा राकेश चन्द निर्वाचित भएका छन्। उनले पूर्व सचिव रामदत्त भट्टलाई १ सय ४० मतान्तरले पराजित गरेका हुन्। चन्दले १ सय ९५ मत प्राप्त गर्दा भट्टले ५५ मत पाएका थिए।

भने, क्षेत्र नम्बर ३ को सभापतिमा अम्बादत्त जोशी निर्वाचित भएका छन्। जोशीले १ सय २६ मत प्राप्त गरी प्रतिस्पर्धी कर्णबहादुर चन्दलाई पराजित गरेका हुन्। चन्दले ७२ मत मात्रै प्राप्त गरेका थिए।

खुला सदस्यतर्फ शिवराज भट्ट, लक्ष्मण राना, लक्ष्मण गिरी र गोकर्ण प्रसाद लामिछाने निर्वाचित भएका छन्। उनीहरूले क्रमशः १२५, १२२, १२० र १०६ मत प्राप्त गरेका थिए।

यस्तै जिल्ला उपसभापतिमा भागरथी बडाल, सहसचिवमा यज्ञराज जोशी, क्षेत्र नम्बर १ को सभापतिमा वीरेन्द्र शाही ‘विरु’ र क्षेत्र नम्बर २ को सभापतिमा गणेश खडका निर्विरोध निर्वाचित भएका हुन्। महिला सदस्यमा हिरा विष्ट निर्वाचित भएकी छन्।

पार्टी स्थापना कालदेखि नै जिल्ला नेतृत्वमा रहेका विष्ट पहिलो पटक २०७९ असारमा महेन्द्रनगरमा सम्पन्न जिल्ला भेलाबाट सभापति बनेका थिए।

त्यसपछि २०८१ पुसमा बेलौरीमा सम्पन्न जिल्ला भेलाबाट पुनः सभापति चयन भएका विष्ट यसपटकको अधिवेशनबाट लगातार तेस्रो कार्यकालका लागि नेतृत्वमा दोहोरिएका छन्।

रास्वपाका केन्द्रीय सदस्य विजय जैरु ले उद्घाटन गरेको अधिवेशनमा सांसदद्वय जनक सिंह धामी र ज्ञानेन्द्र सिंह महता लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अबेर रातिसम्म चलेको मतदानमा जिल्लाभरका प्रतिनिधि तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। अधिवेशनले कञ्चनपुरमा रास्वपाको नयाँ जिल्ला नेतृत्व चयन गर्दै आगामी संगठनात्मक यात्राको मार्ग तय गरेको छ।

अन्तिम अध्यावधिक: २५ जेठ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस