बेलौरी, कञ्चनपुर -
आइतबार बेलौरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले प्रतिनिधिसभा सदस्य जनकसिंह धामी, नेपाल इट्टा व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष बलदेवसिंह बुडाल तथा कुण्डा सब–डिभिजन वन कार्यालयका वन अधिकृत दिनेशकुमार यादवलाई सम्मान तथा स्वागत गरेको छ।
संघले विभिन्न क्षेत्रबाट बेलौरी क्षेत्रको आर्थिक, सामाजिक तथा संस्थागत विकासमा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरेको जनाएको छ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाेल्दै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशराज पन्तले संघको संस्थागत सुदृढीकरण, भौतिक पूर्वाधार विकास तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्थापन र सहयोगका लागि प्रतिनिधिसभा सदस्य जनकसिंह धामीसमक्ष अनुरोध गर्नुभयो।
पन्तले बेलौरी उद्योग वाणिज्य संघलाई व्यवसायीहरूको बलियो साझा संस्थाका रूपमा विकास गर्दै स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जवाफमा प्रतिनिधिसभा सदस्य माननीय जनकसिंह धामीले बेलौरी उद्योग वाणिज्य संघको विकास र व्यवसायीहरूको हकहित संरक्षणका लागि आफ्नो तर्फबाट आवश्यक पहल, समन्वय तथा सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो।
उहाँले निजी क्षेत्रको सशक्तीकरणबाट स्थानीय अर्थतन्त्र मजबुत बन्ने उल्लेख गर्दै संघका आवश्यकताहरू सम्बोधन गर्न सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल इट्टा व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष बलदेवसिंह बुडालले उद्योग तथा व्यवसाय क्षेत्रको विकासबिना आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गर्दै बेलौरी उद्योग वाणिज्य संघको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा आर्थिक गतिविधि विस्तारका लागि सक्दो सहयोग र सहकार्य गर्ने बताउनुभयो।
त्यसैगरी, कुण्डा सब–डिभिजन वन कार्यालयका वन अधिकृत दिनेशकुमार यादवले वन, वातावरण संरक्षण र आर्थिक विकासलाई सन्तुलित ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउँदै उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
सम्मानित व्यक्तित्वहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बेलौरी उद्योग वाणिज्य संघको चौतर्फी विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धनका लागि आवश्यक सहयोग र रचनात्मक पहलमा आफूहरू प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले बेलौरी क्षेत्रको व्यापार, उद्योग, पर्यटन तथा लगानी प्रवर्द्धनका विषयमा समेत धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन बेलौरी उद्योग वाणिज्य संघका महासचिव रामेश्वर न्यौपानेले गर्नुभएको थियो।