कञ्चनपुर : बेलौरी छोटी भन्सार स्तरोन्नतिका लागि सांसद धामी सहित प्रमुख जिल्ला अधिकारीकाे टोलीद्वारा स्थलगत अनुगमन

होमपेज / मुख्य समाचार / समाचार /
सीमावर्ती (बेलाैरी-खजुरीया) सडक मर्मतमा जोड
कञ्चनपुर : बेलौरी छोटी भन्सार स्तरोन्नतिका लागि सांसद धामी सहित प्रमुख जिल्ला अधिकारीकाे टोलीद्वारा स्थलगत अनुगमन
  • शीतल भट्ट
  • ७ साउन २०८३ (४ घण्टा अघि)
  • ८२

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माननीय जनकसिंह धामी, समानुपातिक सांसद निराशा चौधरी, प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरी तथा सशस्त्र प्रहरी उपरीक्षक प्रेम सिग्देल सहितको टोलीले बेलौरी छोटी भन्सार नाका स्तरोन्नतिका लागि स्थलगत अनुगमन गरेको छ।

बिहीबार बेलौरी उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न अनुगमन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा टोलीले भन्सार क्षेत्रको भौतिक पूर्वाधार, सेवा प्रवाह, सुरक्षा व्यवस्था तथा सीमावर्ती व्यापारिक गतिविधिबारे जानकारी लिँदै स्थानीयवासी र व्यवसायीका गुनासा तथा सुझाव समेटेकाे छ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य जनकसिंह धामीले बेलौरी छोटी भन्सारको स्तरोन्नति यस क्षेत्रको आर्थिक विकास, व्यापार विस्तार तथा राजस्व वृद्धिका लागि अपरिहार्य रहेको बताए।

उनले यस विषयमा पटकपटक सदनमा कुरा उठाएको जनाउँदै, स्थानीय तह, उद्योगी–व्यवसायी तथा विभिन्न निकायसँग समन्वय गरी भन्सार स्तरोन्नतिको विषयलाई सम्बन्धित मन्त्रालय र विभागसम्म पुर्‍याई आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।, पत्रकार संगकाे प्रत्यक्ष कुराकानीमा सांसद धामीले क्षेत्रकाे चाैतर्फी विकासका लागि आफू निरन्तर जुटिरहेको जनाए।

समानुपातिक सांसद निराशा चौधरीले सीमावर्ती क्षेत्रका नागरिक र व्यवसायीका समस्या समाधानका लागि आफू सदैव प्रतिबद्ध रहेको बताइन्।

चाैधरीले भन्सार स्तरोन्नतिसँगै सडक, सुरक्षा, पूर्वाधार तथा व्यापारिक वातावरण सुधारका विषयलाई सम्बन्धित निकायमा प्राथमिकताका साथ उठाउने धारणा राखिन्।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले स्थानीय स्तरबाट उठेका जायज माग र सुझावहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याउन प्रशासनले आवश्यक समन्वय र सहजीकरण गर्ने बताए। उनले विकास निर्माण र सेवा प्रवाहसँग सम्बन्धित विषयमा प्रशासन सकारात्मक रहेको उल्लेख गरे।

जिल्ला प्रहरी प्रमुख (एसपी) नेत्रमणि गिरीले सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै अवैध गतिविधि नियन्त्रण र वैधानिक व्यापार प्रवर्द्धनमा नेपाल प्रहरी सक्रिय रहेको बताए।  गिरीले स्थानीयवासीबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने बताए।

सशस्त्र प्रहरी उपरीक्षक प्रेम सिग्देलले सीमा सुरक्षालाई थप मजबुत बनाउँदै चोरी, तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिबद्ध रहेको बताए। उनले स्थानीय सरोकारवालासँग समन्वय गरी सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने उल्लेख गरे।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशराज पन्तले बेलौरी छोटी भन्सारको स्तरोन्नतिले क्षेत्रीय आर्थिक गतिविधिमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। अध्यक्ष पन्तले वर्षायाममा सीमावर्ती क्षेत्रमा रहेको खोलामा पानी भरिएपछि स्थानीयवासी तथा व्यापारीहरू भारतीय बजार खजुरिया आउजाउ गर्न निकै सास्ती खेप्न बाध्य भएको जनाउँदै उक्त सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए।

यस्तै, स्थानीय अगुवा केशवराज जोशीले बेलौरी–खजुरिया सडक खण्डको दुरावस्थाका कारण स्थानीयवासी, विद्यार्थी तथा व्यवसायीहरू दैनिक रूपमा समस्यामा परेको बताए।

जाेशीले सडक सुधार र भन्सार स्तरोन्नतिलाई सँगसँगै अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्दै यसले स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपानेले खुला सीमावर्ती क्षेत्रको फाइदा उठाउँदै विभिन्न स्थानमा अवैध कारोबार, चोरी तथा तस्करीका गतिविधि अझै नियन्त्रणमा आउन नसकेको उल्लेख गर्दै प्रहरी उपरीक्षक नेत्रमणि गिरी र सशस्त्र प्रहरी उपरीक्षक प्रेम सिग्देलको ध्यानाकर्षण गराएका थिए।

उनले सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायले थप प्रभावकारी निगरानी र कडाइ गर्नुपर्नेमा जोड दिए।

न्यौपानेले वैधानिक व्यापारलाई प्रोत्साहन र अवैध गतिविधिलाई निरुत्साहित गर्न स्थानीय समुदाय, सुरक्षा निकाय र प्रशासनबीच समन्वय आवश्यक रहेको बताए।

कार्यक्रममा इन्जिनियर सहित बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी, स्थानीय जनप्रतिनिधि आरती चौधरी, युवानेता वीरेन्द्र शाही (बिरु), समाजसेवी तारा सिंह विष्ट, टेकबहादुर साउद, रामेश्वर न्यौपाने, हस्तबहादुर सुनार, चेतनाथ दाहाल, गोविन्द सापकोटा, सुन्दर चाैधरी लगायत उद्योगी–व्यवसायी पत्रकार तथा स्थानीयहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा उठाइएका सुझाव, समस्या तथा मागहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याई आवश्यक पहल गर्ने प्रतिबद्धता टोलीले जनाएको छ।

स्थानीयहरूले बेलौरी छोटी भन्सारको स्तरोन्नति, बेलौरी–खजुरिया सडक सुधार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई क्षेत्रको समग्र विकाससँग जोडिएको विषयका रूपमा उठाउँदै शीघ्र कार्यान्वयनको माग गरेका छन्।

अन्तिम अध्यावधिक: ७ साउन २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस