बेलौरी, कञ्चनपुर –
सार्वजनिक सेवा प्रसारण केन्द्रको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूको सर्टलिस्ट प्रकाशित भएको छ। मंगलबार छनोट समितिले सार्वजनिक गरेको २८ जनाको सूचीमा कैलालीका वरिष्ठ पत्रकार हिक्मत रावल परेका छन्।
हाल बीबीसीमा कार्यरत रावल नेपाल–भारत पत्रकार संघका पूर्व अध्यक्ष तथा अग्रलेख मिडिया प्रालिका कार्यकारी निर्देशक हुन्। अंग्रेजी र आमसञ्चार विषयमा स्नातकोत्तर तह हासिल गरेका रावल विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्।
उनले एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन तथा ग्यालेक्सी फोरके टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
सुदूरपश्चिमका जनसरोकारका विषय, विकास निर्माण, सामाजिक मुद्दा, राजनीतिक गतिविधि तथा सीमावर्ती क्षेत्रका समाचारलाई राष्ट्रिय बहस र प्राथमिकतामा स्थापित गराउन रावलले उल्लेखनीय भूमिका निर्वाह गरेको सञ्चार क्षेत्रका जानकारहरू बताउँछन्।
पत्रकारिता क्षेत्रको लामो अनुभव, व्यावसायिक दक्षता, नेतृत्व क्षमता तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी गहिरो बुझाइका कारण रावललाई सार्वजनिक सेवा प्रसारण केन्द्रको अध्यक्ष पदका प्रमुख दाबेदारमध्ये एकका रूपमा हेरिएको छ।
सार्वजनिक सेवा प्रसारण केन्द्रको अध्यक्ष पदका लागि छनोट भएका २८ जना उम्मेदवारमध्येबाट अन्तिम रूपमा योग्य उम्मेदवार सिफारिस गर्न प्रस्तुतीकरण तथा अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
सञ्चार क्षेत्रको अनुभव, संस्थागत नेतृत्व र सार्वजनिक प्रसारणप्रतिको प्रतिबद्धताका आधारमा रावलको उम्मेदवारीलाई सुदूरपश्चिमसहित देशभरका सञ्चारकर्मी र सरोकारवालाहरुले निकै चासोका साथ हेरिरहेका छन्।