भारतमा कञ्चनपुरका दुई नेपालीमाथि कुटपिट

होमपेज / घटना / समाचार /
भारतमा कञ्चनपुरका दुई नेपालीमाथि कुटपिट
  • रेडियो सुदूर सञ्चार
  • २१ जेठ २०८३ (१ घण्टा अघि)
  • ११७

कञ्चनपुर - 

छिमेकी मुलुक भारतमा कञ्चनपुरका दुई नेपाली नागरिकमाथि कुटपिट भएको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–१०, प्रतिभाटोलका सन्दीप परियार र दीपिका परियारमाथि कुटपिट भएको हो।

कुटपिटबाट सन्दीपको टाउको तथा दीपिकाको पेटसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। गाउँ फर्किएपछि उनीहरूले स्थानीय अस्पतालमा उपचार गराएका छन्।

पीडितका अनुसार सीमावर्ती भारतीय बजार घुमेर घर फर्किने क्रममा नौजलियाडाम क्षेत्रमा उनीहरूमाथि आक्रमण भएको थियो।

भारतीय युवाको एक समूहले नेपाली नागरिकलाई होच्याउने प्रयास गरेपछि दुई पक्षबीच वादविवाद भएको र त्यसपछि भारतीय समूहले कुटपिट गरेको घाइतेहरूको भनाइ छ।

घाइते सन्दीप परियारले भारतीय ५–७ जना युवाको समूहले आफ्नी बहिनीलाई जिस्क्याउन थालेपछि त्यसो नगर्न आग्रह गर्दा आफूमाथि कुटपिट सुरु भएको बताए।

“उनीहरू मात्र होइन, पछि गाउँका अन्य व्यक्तिहरू पनि आएर हामीमाथि आक्रमण गर्न थाले। त्यसपछि हामी नेपालतर्फ भागेर ज्यान जोगायौँ,” उनले भने, “भाग्ने क्रममा घटनास्थलमा रहेका तीनवटा मोटरसाइकलमध्ये दुईवटा चिनेजानेका भारतीय नागरिकको सहयोगमा फिर्ता ल्यायौँ। एउटा मोटरसाइकल भने तोडफोड गरिएकाले ल्याउन सकेनौँ।”

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले घटनाबारे प्रशासनले सुरक्षा निकायमार्फत जानकारी संकलन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताए।

घटनाको आधिकारिक जानकारी प्रशासनमा नआएकाले तथ्य बुझेर सोहीअनुसार समस्या समाधानतर्फ पहल गरिने उनको भनाइ छ। पीडित तथा स्थानीयवासीले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

यस घटनालाई लिएर स्थानीय तहमा विभिन्न टिप्पणीहरू पनि आएका छन्। केही स्थानीयले नेपाल–भारत सम्बन्ध तथा सीमा क्षेत्रका संवेदनशील विषयलाई लिएर भारतीय पक्षबाट नेपाली नागरिकलाई हेप्ने प्रवृत्ति देखिएको तर्क गरेका छन्।

यद्यपि, कतिपयले यस्ता घटना सीमावर्ती क्षेत्रमा बेलाबेलामा हुने भएकाले दुवै देशका नागरिकबीच आपसी समझदारी, संवाद र मेलमिलापका माध्यमबाट विवाद समाधान गर्नुपर्ने धारणा राखेका छन्।

अन्तिम अध्यावधिक: २१ जेठ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस