बेलाैरी, कञ्चनपुर -
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट युवा नेता वीरेन्द्र शाही (विरु) कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय सभापति पदमा निर्विरोध चयन भएका छन्।
अधिवेशनले शाहीलाई क्षेत्र नम्बर–१ को क्षेत्रीय सभापतिको जिम्मेवारी प्रदान गर्दै पार्टीको नेतृत्वमा चयन गरेको हो। साथै, उनी भौगोलिक क्लस्टरतर्फबाट जिल्ला सदस्य पदमा समेत समेटिएका छन्।
लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका शाही रास्वपाका युवा नेताका रूपमा परिचित छन्। पार्टी संगठन विस्तार, युवाको सहभागिता अभिवृद्धि तथा जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण उनलाई जिम्मेवार नेतृत्वमा चयन गरिएको बताइएको छ।
निर्विरोध चयनपछि शाहीले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण पार्टी सदस्य तथा प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।
उनले पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुसार संगठनलाई अझ सुदृढ बनाउँदै क्षेत्र नम्बर–१ का जनताका आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
रास्वपा कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनबाट विभिन्न तहका नयाँ नेतृत्व चयन भएसँगै जिल्लामा पार्टी संगठनलाई थप सशक्त र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।