रतनपुर सिमसारमा दुर्लभ सारस

होमपेज / समाचार /
रतनपुर सिमसारमा १३ वटा सारस देखा
  • रेडियो सुदूर सञ्चार
  • १० साउन २०८२ (१८ घण्टा अघि)
  • २१४

बेलडाँडी, कञ्चनपुर -

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका सिमसारहरुमा दुर्लभ सारसको उपस्थिति राम्रो रहेको पाइएको छ । रतनपुर, पुरैनी ताल, नकैया लगायतका सिमसारहरुमा सारसको उपस्थिति राम्रो र नियमित रहेको पाइएको हो । पछिल्लो समय बेल्डाँडी गाउँपालिका-५ को रतनपुर सिमसारमा १३ वटा सारस देखा परेका छन् ।

रतनपुर सिमसारको दलदलमा ती सारसहरु देखिएको वाइल्डलाइफ फोटोग्राफर कुलराज चौधरीले जानकारी दिए । उनले भने,“सारस धेरै देखिए । तर निकै टाढा थिए ।” रतनपुर सिमसारमा सारसले बच्चा कोरल्ने गरेको दाबी गरिएको छ । गतवर्ष स्थानीयले सारसको एउटा बच्चा देखेका थिए । त्यस सिमसारमा सारसले यसवर्ष पनि ब्रिडिङ गरेको हुन सक्ने चराविद हिरुलाल डङ्गौराले बताए । “अहिले सारसको ब्रिडिङ सिजन हो । रतनपुरमा यसवर्ष पनि ब्रिडिङ गरेको हुन सक्छन्”, उनले भने,“तर ठुलो क्षेत्रमा दलदल रहेकाले गुँड भेटिएको छैन ।”

यसअघि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालको दक्षिणतिर २२ वटा सारस देखिएका थिए । रतनपुर सिमसारमा अहिले देखा परेको १३ सारस दोस्रो बढी सङ्ख्या रहेको जनाइएको छ । बर्दिया र कैलालीको तुलनामा कञ्चनपुरमा सारसको उपस्थिति राम्रो रहेको चराविद डङ्गौराले बताए । उनले यो जिल्लाको विभिन्न सिमसारमा सारसहरु देखा परिरहेका जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन० को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ । यो प्रजातिले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शङ्खे लगायतका अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका बताइएको छ । यसैगरी, बाघ, चितुवा जस्ता हिंस्रक जनावर नजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने गरेको जनाइएको छ ।

खेतीपातीमा किटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार मासिँदै गएको छ । सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको डङ्गौराले बताए । बासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिदैं जानू नै सारसको लागि प्रमुख चुनौती बन्दै गएको उनको भनाइ छ ।

नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ प्रजाति हुन । नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा सारसको उपस्थिति सबैभन्दा बढी रहेको छ ।     

 

 

अन्तिम अध्यावधिक: १० साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस