निरु चाैधरी/ बेलौरी, कञ्चनपुर ।
रानाथारु समुदायले विशेष रूपमा मनाउने तिज पर्वको अवसरमा बेलौरी नगरपालिकाले साउन ११ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ।
उक्त निर्णयबारे जानकारी गराउँदै नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोगराम चौधरीले शुभकामना सन्देशसहित एक सूचना जारी गरेका छन्।
शुभकामना सन्देशमा कार्यवाहक नगर प्रमुख चौधरीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण रानाथारु समुदायका दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नगरवासीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै तिज पर्व २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन्।
उनले भनेका छन्, “बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक हाम्रो देशमा यस्ता चाडपर्वहरूले आपसी एकता, धार्मिक सहिष्णुता र भातृत्वको सम्बन्धलाई अझ सुदृढ बनाउने गर्दछ।”
चौधरीले नगरपालिकाले सबै जातजाति, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान सम्मान र प्राथमिकता दिँदै आएको स्पष्ट पारेका छन्। साथै, उनले रानाथारु समुदायको तिज पर्वलाई तडकभडक र होहल्ला नगरी सभ्य, भव्य र मितव्ययी ढंगले मनाउन अनुरोध समेत गरेका छन्।
का.वा नगर प्रमुख स्तरीय निर्णयअनुसार बेलौरी नगरपालिका क्षेत्रभित्र साउन ११ गते आइतबारका दिन स्थानीय बिदा दिइने जानकारी सूचनामार्फत सार्वजनिक गरिएको छ।
कार्यवाहक नगर प्रमुख जाेगराम चौधरीले चाडपर्वको अवसरमा आपसी सद्भाव, सांस्कृतिक पहिचानको संरक्षण र समुदायबीचको सहकार्यलाई अझ सशक्त बनाउने अपेक्षा व्यक्त गरेका छन्।