दिनेश चाैधरी / बेलौरी, कञ्चनपुर ।
"हमरी संस्कृती हामरो पहिचान, संस्कृति बचानको हामरो अभियान" भन्ने मूल नाराका साथ बेलौरी नगरपालिका–७ गणेशपुरमा सावनको डोला तथा तिज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
शुक्रबार रानाथारु तिज विशेष विविध कार्यक्रम प्रस्तुत गरी भव्य र उत्साहजनक रूपमा सावनकाे डाेला सम्पन्न भएको हाे।
कार्यक्रमको आयोजना रानाथारु चाडपर्व संस्कृति हकहित संरक्षण समिति, बेलौरी नगरपालिका–७ कञ्चनपुरले गरेको थियो भने सह–आयोजकको रूपमा बेलौरी नगरपालिका वडा नं. ७ कार्यालयको सहकार्य रहेको थियो।
बेलाैरी नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीय पुरन रानाको सभापतित्व रहेको थियोे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि श्रेष्ठले - रानाथारु समुदायको मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरणका निम्ति यस्ता सांस्कृतिक कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सावनको डोला तथा तिज मिलन कार्यक्रम अन्तर्गत महिलाहरूले परम्परागत रानाथारु भेषभूषा र गहनामा सजिएर सामूहिक नाचगान प्रस्तुत गरेका थिए।
साथै, स्थानीय कलाकारहरूले सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यमार्फत समुदायको पहिचान झल्काउने प्रस्तुति दिएका थिए।
कार्यक्रमले समुदायमा आपसी मेलमिलाप, सहकार्य र सांस्कृतिक चेतना अभिवृद्धिमा टेवा पुगेको सहभागीहरूको भनाइ थियो।
रानाथारु समुदायको मौलिक चाडपर्वलाई संरक्षण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आयोजकका तर्फबाट सभापति रानाले भविष्यमा अझै व्यापक सहभागिता सहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।