बेलौरी : वडाध्यक्ष ढकालद्वारा कालिका मन्दिरलाई डिजिटल बोर्ड

होमपेज /
“मन्दिर हाम्रो सांस्कृतिक सम्पत्ति हो, यसलाई सबैले संरक्षण र प्रवर्द्धन गर्नुपर्छ”
  • रेडियो सुदूर सञ्चार
  • २६ असार २०८२ (९ घण्टा अघि)
  • ११४

निरु चाैधरी / बेलौरी, कञ्चनपुर –

बेलौरीकाे ऐतिहासिक कालिका मन्दिर प्रवेशद्वारमा डिजिटल सूचना बोर्ड जडान गरिएको छ।

धार्मिक सम्पदाको संरक्षण र व्यवस्थापनमा प्रविधिको समावेश गर्ने उद्देश्यले उक्त बाेर्ड जडान गरिएको हाे।

बेलाैरी नगरपालिका ४ का वडाध्यक्ष अर्जुन ढकालले आफ्नो व्यक्तिगत खर्चबाट उक्त डिजिटल बाेर्ड हस्तान्तरण गरेको मन्दिर निर्माण समितिले जनाएको छ।

मन्दिरको नाम, धार्मिक जानकारी तथा ऐतिहासिक पृष्ठभूमि समावेश गरिएको बोर्डले दर्शनार्थी तथा आगन्तुकहरूलाई जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ।

“धार्मिक आस्था र आधुनिक प्रविधि सँगसँगै हिँड्नुपर्छ भन्ने सोचका साथ यो सानो प्रयास गरिएको हो,” वडाध्यक्ष ढकालले रेडियो सुदूर सञ्चार संग भने, “मन्दिर हाम्रो सांस्कृतिक सम्पत्ति हो, यसको संरक्षण र प्रवर्द्धनमा सबैको भूमिका हुनुपर्छ।”

यसअघि पनि वडाध्यक्ष ढकालले मन्दिरको संरचना निर्माणको प्रारम्भका लागि वडाबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। सो बजेटमार्फत मन्दिरको जग, निर्माणकार्य सुरु गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाशराज पन्तले बताए । “वडाबाट प्राप्त सहयोगकै आधारमा हामीले कामको थालनी गरेका हौँ,” पन्तले भने।

मन्दिरको विकासमा स्थानीयस्तरका प्रयास मात्र होइन, देश–विदेशमा रहेका श्रद्धालु भक्तजनहरूको समेत उल्लेखनीय योगदान रहेको निर्माण समितिका सचिव अमित भट्टराईकाे भनाइ छ। “ अस्ट्रेलिया, कतार, जापान, मलेसिया, अमेरिका, भारत लगायत देशहरूमा रहेका श्रद्धालुहरूबाट आर्थिक, भौतिक तथा मनोबलको सहयोग प्राप्त भइरहेको छ,” सचिव भट्टराईले भने, “मन्दिर सबैको आस्थाको केन्द्र भएकाले सबैले सकेको सहयोग गरिरहनु भएको छ।”

वडाध्यक्ष ढकाल विगत दुई कार्यकालदेखि निर्वाचित जनप्रतिनिधिका रूपमा कार्यरत छन्। धार्मिक संरचना, सामुदायिक भवन, बाल उद्यान, खानेपानी तथा स्वास्थ्य पूर्वाधार विकासमा विशेष चासो राख्दै आएका उनी स्थानीय तहबाट गरिनुपर्ने दीर्घकालीन संरचनागत विकासका कार्यमा अग्रसर रहँदै आएका छन्।

स्थानीयहरूले मन्दिरको विकासप्रति सन्तोष व्यक्त गर्दै वडाध्यक्ष ढकालप्रति आभार प्रकट गरेका छन्। “पहिलेको जस्तो खुला चौरमा रहेको मन्दिर अब व्यवस्थित र आकर्षक बन्दै गएको छ,” स्थानीय समाजसेवी ज्ञानेन्द्र गाैतमले भने, “डिजिटल बोर्डले बाहिरी भक्तजनलाई पनि सजिलै जानकारी दिन सहयोग पुग्नेछ।”

प्रत्येक वर्ष धार्मिक चाडपर्वका अवसरमा हजारौं दर्शनार्थीहरूको आगमन हुने कालिका मन्दिरलाई भावी दिनमा धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना सहित मन्दिर समिति सक्रिय रहेको बताइएको छ।

अन्तिम अध्यावधिक: २६ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस