कञ्चनपुर -
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा भारतबाट फर्किएकी थिइन् । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन् । उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन।
शुक्रबार साँझ कमला आउजीलाई महिनावारी भयो । छाउ बार्ने परम्पराअनुसार उनी महिनावारी भएका बेला छाउगोठमा बस्दै आएकी थिइन् । घर नजिकै कच्ची छाउकोठ पनि बनाइएको थियो । तर, शुक्रबार भने उनी आफ्नो घरको आगनमै बनाइएको छाउगोठ पानी परेपछि चुहिने भएकाले बसिनन् । नातामा जेठाजु समेत पर्ने छिमेकी सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन् । तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डस्यो ।
बाँया गालामा सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरेकी थिइन् । बोल्न सक्ने अवस्थामै रहेकी कमलालाई डसेको करेत सर्प उनको विस्तरा नजिकै हिंडिरहेको अवस्थामा भेटिएको भिडियो समेत स्थानीयले बनाएका थिए । उनका छिमेकी सुचित्र शाहकाअनुसार राति करीब साढे १२ बजे सर्पले कमलालाई डसेको कुरा थाहा भएको थियो । उनलाई तत्कालै अटो रिक्सा खोजेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएको शाह बताउँछन् ।
‘सर्पले डसेपछि राति नै हामीलाई खबर गरिएको थियो । हामीले तत्काल अटोरिक्सामा राखेर प्रादेशिक अस्पताल पुगाएका थियौं’, शाहले भने, ‘त्यहाँ आईसीयू र भेन्टिलेटर खाली थिएन । डेढ घण्टापछि मात्र आईसीयूमा राखिएको थियो । तर उहाँलाई बचाउन सकेनौ् ।’ बेलैमा उपचार नहुँदा अन्ततः कमलाको शनिबार साँझ ८ बजे निधन भयो ।
महिनावारी भएकै कारण छाउगोठमा सुतेका बेला आउजीलाई सर्पले डसेपछि उनका तीन छोराहरु टुहुरा भएका छन् । श्रीमतीको अल्पायुमै मृत्यु भएको खबरपछि उनी अन्तिम संस्कारका लागि घर फर्किरहेका छन् । मृतक कमलाको शव भने सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । पुरनले आफू घर पुगेपछि शव बुझ्ने बताइएको छ । पुर्ख्यौंली घर अछामको मेल्लेख गाउँपालिका–८ भएकी कमला आउजी महिनावारी भएका बेला घरमा सुत्यो भने देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुतेकी थिइन् । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउपडी भएका बेला छाउगोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामुलक अभियान चलाइएर गोठ भत्काउने काम समेत गरिएको बताउँछन् । तर, ग्रामीण क्षेत्रमा अहिले पनि छाउगोठमा बस्ने परम्परा कायमै रहेका कारण दुःखद् घटना हुन पुगेको उनी बताउँछन् ।
‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रुपमा देखा परेको थियो । त्यसपछि वडाहरुमा छाउपडी कुप्रथाविरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ ओझाले भने, ‘वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुपर्यो ।’ मेयर ओझाकाअनुसार अगामी आर्थिक वर्ष नगरपालिकामा छाउपडी कुप्रथाविरुद्ध सचेतनामुकल अभियान नै चलाउने गरि नीति तथा कार्यक्रममा समेटिएको छ । पुर्ख्यौली घर अछाम भएका समुदायमा अहिले पनि छाउपडी भएका बेला महिला तथा किशोरीहरुलाई छाउगोठमा राख्ने गलत परम्परा कायम रहेको पनि उनी बताउँछन् ।
आउजी दमाइ महिनावारी भएकै कारण छाउगोठमा बसेका बेला सर्पको डसाईबाट अकालमै मृत्युवरण गर्ने एक्लो महिला भने होइनन् । छाउपडी कुप्रथाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छाउगोठमा बसेका बेला कयौं किशोरी, युवती तथा महिलाहरुले अकालमै ज्यान गुमाएका छन् । २३ साउन २०८० मा बैतडीमा छाउगोठमा सुतेका बेला १६ वर्षीया किशोरीले अकालमै ज्यान गुमाएकी थिइन् । पञ्चेश्वर गाउँपालिका–४ को फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पले डस्दा मृत्यु भएको थियो । सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी कुप्रथा उन्मूलन गर्ने नीतिअनुसार छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सुदूरपश्चिमका ७ जिल्लामा ७ हजार ५४५ छाउगोठ भत्काएको थियो ।
अभियानका क्रममा कञ्चनपुरमा मात्र २३० घर छाउगोठ भत्काएको थियो । सबैभन्दा धेरै अछाममा ५८१३ छाउगोठ भत्काइएको प्रहरीको तथ्यांक छ । बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६ र डडेल्धुरामा २३ छाउगोठ भत्काइएको थियो । स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा गृह मन्त्रालयले प्रहरी प्रशासनमार्फत छाउगोठ भत्काएपनि उक्त अभियानले सार्थकता पाउन नसकेको कुराको ज्वलन्त उदाहरण कञ्चनपुरको पछिल्लो घटना हो । अर्कोतिर छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि सुदूरपश्चिममा भने कानुन विपरीत छाउपडी कुप्रथा मान्दै छाउगोठमा महिलालाई राख्ने गलत परम्पराको अन्त्य हुन सकेको छैन ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ । यस्तो गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था उक्त ऐनले व्यवस्था गरेको छ ।
सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद् गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडावापत मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । तर यहाँ भने कानुनले अपराध मानेको छाउपडी कुप्रथा समाजमा परम्पराका रुपमा जगडिएर बस्दा महिलाहरुले अकालमै मृत्युवरण गर्नुपरेको छ । अनलाइनखबरबाट