बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरमा उत्साहजनक रूपमा मतदान भइरहेको छ। निर्वाचन आयोगले तोकेअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु गरिएको हो। मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले तोकिएकै समयमा जिल्लाभर मतदान सुरु भएको जानकारी दिए।
मुख्य निर्वाचन अधिकृत भण्डारीका अनुसार जिल्लाका १ सय ३२ वटै निर्वाचन स्थलका ३ सय ६२ मतदान केन्द्रबाट मतदान भइरहेको छ।
“अहिलेसम्म मतदान उत्साहजनक रूपमा भइरहेको छ,” उनले भने, “नागरिकहरू बिहानैदेखि आ–आफ्ना मतदान केन्द्रमा पुगेर उत्साहका साथ मतदान गरिरहेका छन्।”
१०६ वर्षीया वृद्धाद्वारा मतदान
कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत शुक्लाफाँटा नगरपालिका–१, बन्साहकी १०६ वर्षीया ज्येष्ठ नागरिक लक्ष्मीदेवी अवस्थीले मतदान गरेकी छन्। उनले कृष्ण आधारभूत मतदान केन्द्रमा मतदान गरेकी हुन्। अवस्थीले ०४९ सालदेखि ०८२ सालसम्म निरन्तर रूपमा मतदान गर्दै आएकी छन्।
जिल्लाकै सबैभन्दा बढी मतदाता रहेको भीमदत्त नगरपालिका–१८, कटानस्थित महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल)मा पनि उत्साहपूर्ण मतदान भइरहेको छ।
उक्त मतदान स्थलमा १० हजार ३२८ मतदाता रहेका छन्। यो संख्या जिल्लाको कुल मतदातामध्ये ३.२८ प्रतिशत तथा निर्वाचन क्षेत्र नं. ३ को कुल मतदातामध्ये करिब १० प्रतिशत हो। सो मतदान स्थलमा ११ वटा मतदान केन्द्र रहेका छन्।
क्षेत्रगत मतदाता विवरण
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार:
निर्वाचन क्षेत्र नं.१
५० हजार १२३ पुरुष र ५१ हजार ५८८ महिला गरी कुल १ लाख १ हजार ७२४ मतदाता रहेका छन्। ३२ वडा रहेको यस क्षेत्रमा ५२ मतदान स्थल र १२२ मतदान केन्द्र रहेका छन्।
निर्वाचन क्षेत्र नं. २
१ तेस्रो लिङ्ग सहित ५३ हजार ४४५ पुरुष र ५६ हजार १२८ महिला गरी कुल १ लाख ९ हजार ५७४ मतदाता रहेका छन्। ३० वडा रहेको यस क्षेत्रमा ४२ मतदान स्थल र १२३ मतदान केन्द्र रहेका छन्।
निर्वाचन क्षेत्र नं. ३
५० हजार ४८७ पुरुष र ५२ हजार ६ सय महिला गरी कुल १ लाख ३ हजार ८७ मतदाता रहेका छन्। ३० वडा रहेको यस क्षेत्रमा ३७ मतदान स्थल र ११५ मतदान केन्द्र रहेका छन्।
मतदाता संख्या वृद्धि गत निर्वाचनमा कञ्चनपुरमा १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार ८४६ पुरुष र १ लाख ५५ हजार ६६२ महिला गरी कुल ३ लाख २ हजार ५०९ मतदाता थिए। जसमध्ये १ लाख ८६ हजार ३२२ जनाले मतदान गरेका थिए।
अघिल्लो निर्वाचनको तुलनामा हाल ११ हजार ९७६ मतदाता वृद्धि भएका छन्। ०८२ सालसम्म आइपुग्दा १ तेस्रो लिङ्ग सहित १ लाख ६० हजार ३१६ महिला र १ लाख ५४ हजार ६८ पुरुष गरी कुल ३ लाख १४ हजार ३८५ मतदाता पुगेका छन्। हाल महिला मतदाता ६ हजार २ सय ४८ ले बढी रहेका छन्।
विगतका निर्वाचनका तथ्यांक
०६४ सालमा ९७ हजार ४४२ महिला र ८६ हजार ८७७ पुरुष गरी कुल १ लाख ८४ हजार ३१९ मतदाता थिए। त्यसबेला महिला मतदाता १० हजार ५२ ले बढी थिए। ९८ हजार ७३९ जनाले मतदान गरेका थिए भने ८५ हजार ५८० जनाले मतदान गरेका थिएनन्।
०७० सालमा ९४ हजार ९ सय २३ महिला र ८८ हजार १ सय ४६ पुरुष गरी कुल १ लाख ८३ हजार ६९ मतदाता थिए। ६ हजार ७ सय ७७ महिला बढी थिए। १ लाख ५२ हजार ९ जनाले मतदान गरे भने ३१ हजार ७० जनाले मतदान गरेनन्।
०७४ सालमा १ लाख ३६ हजार ४५१ महिला र १ लाख २८ हजार ५२३ पुरुष गरी कुल २ लाख ६४ हजार ९७५ मतदाता थिए। महिला मतदाता ७ हजार ९२८ ले बढी थिए। १ लाख ८३ हजार ६६८ जनाले मतदान गरेका थिए भने ८१ हजार ३०७ जनाले मतदान गरेनन्।
०७९ सालमा १ तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार ८४६ पुरुष र १ लाख ५५ हजार ६६२ महिला गरी कुल ३ लाख २ हजार ५०९ मतदाता थिए। ८ हजार ८ सय १६ महिला बढी थिए। १ लाख ८६ हजार ३२२ जनाले मतदान गरे भने १ लाख १६ हजार १८७ जनाले मतदान गरेनन्।
०८२ सालसम्म आइपुग्दा कुल मतदाता संख्या ३ लाख १४ हजार ३८५ पुगेको छ। १ तेस्रो लिङ्ग सहित १ लाख ६० हजार ३१६ महिला र १ लाख ५४ हजार ६८ पुरुष मतदाता रहेका छन्। अहिले महिला मतदाता ६ हजार २ सय ४८ ले बढी रहेका छन्।
सुरक्षा व्यवस्था कडा
मतदानको मिति नजिकिँदै जाँदा जिल्लामा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त पारिएको छ। राजमार्ग, बजार, सीमा क्षेत्र, मतदान स्थल तथा सार्वजनिक स्थानहरूमा गस्ती सहित सुरक्षा प्रबन्ध मिलाइएको छ।
कञ्चनपुरमा ३ सिटका लागि ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगदेखि जिल्ला स्थित सरोकारवाला निकायहरूले मतदातालाई ढुक्क भएर तोकिएको समयमा आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न अपिल गरेका छन्।
यसपटक कुल मतदाताको ५० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरिएको छ। मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूद्वारा विभिन्न मतदान स्थलको अनुगमनसमेत गरिएको छ।
०८४ सालमा हुने भनिएको निर्वाचन ०८२ मै हुँदा नागरिक तहमा अपेक्षाकृत उच्च उत्साह नदेखिएकाले कतै मतदान प्रतिशत घट्न सक्ने अनुमान समेत गरिएको छ।
यद्यपि प्रारम्भिक चरणमा भने उत्साहजनक रूपमा मतदान जारी रहेको छ।