बेलाैरी, कञ्चनपुर —
थारु समुदायमा विद्यमान ऐतिहासिक तथा मौलिक भलमन्सा प्रणालीको संरक्षण, प्रवर्द्धन र संस्थागत विकास गर्ने उद्देश्यले मंगलबार बेलौरी नगरपालिकामा नगर भलमन्सा समितिको ‘नगर बखेरी’ (नगर अधिवेशन) कार्यक्रम सम्पन्न भएको छ।
बेलौरी नगरपालिकाकाे आयाेजना र नगर भलमन्सा समितिको सहकार्यमा सम्पन्न कार्यक्रममा नगर कार्यक्षेत्रभित्रका सबै वडा र गाउँका भलमन्साहरुकाे उपस्थिति रहेको थियो।
नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा समाजका अग्रज, बौद्धिक, युवा भलमन्सा तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
थारु छात्रावास, बेलौरीमा सम्पन्न अधिवेशनबाट पुनः अमर सिंह चौधरीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै पुरानै नगर भलमन्सा समितिलाई निरन्तरता दिइएको छ। भलमन्सा किसन गम्वाका अनुसार अधिवेशनमा सहभागी ८७ जना भलमन्साहरुले पुनः अमर सिंह चौधरीको नेतृत्वलाई अनुमोदन गरेका छन्।
नवगठित समितिमा सहायक भलमन्सा द्वय गुरुप्रसाद चौधरी र सुरेशकुमार बडायक चयन भएका छन् भने सचिवमा विक्रम चौधरी चयन भएका छन्। सदस्यहरूमा क्रमशः बत्तीराम चौधरी, लालबहादुर चौधरी, बलराम, खुसीराम, जुहारीलाल, हरिप्रसाद , जगतराम, रामप्रसाद र हरिलाल चौधरी रहेका छन्।
कार्यक्रममा बोल्दै नगर प्रमुख पोतीलाल चौधरीले भलमन्सा प्रणालीलाई कानूनी संरचनामा बाँध्दै यसको प्रयोगात्मक अभ्यासलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
उनले भने, “भलमन्सा प्रणाली हाम्रो सामाजिक इतिहासको अभिन्न अंग हो। समाजमा मेलमिलाप, न्याय, सहकार्य र संयोजनका माध्यम बनेको यो प्रणालीलाई कानूनी हैसियतमा स्थापित गर्दै हामी नगरस्तरमै उदाहरणीय बनाउने लक्ष्यमा छौं।”
मेयर चाैधरी थपे, “नगर भलमन्सा ऐन २०७८ काे दफा ६ बमोजिम यो प्रणालीलाई संस्थागत बनाउन नगरपालिकाले आवश्यक कानूनी संरचना, जनशक्ति, तालिम, बजेट र प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाउँदै आएको छ। आगामी दिनमा यसलाई समुदायसम्मको शिक्षण–सञ्चारको अङ्ग बनाउने योजना पनि बनाइरहेका छौं।”
त्यस्तै, पुनः अध्यक्षमा चयन भएका अमर सिंह चौधरीले भलमन्सा समितिको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भने, “समाजमा शान्ति, मेलमिलाप र सामाजिक न्यायको आधार बनेको भलमन्सा प्रणालीलाई संस्थागत बनाउँदै आगामी पुस्तामा यसको निरन्तरता कायम गर्न हामी प्रतिबद्ध छौं। हामी सबै भलमन्साहरूबीच आपसी समन्वय र सहयोगमार्फत यो अभियानलाई नयाँ उचाइमा पुर्याउनेछौं।”
उनले विभिन्न वडाबाट निर्वाचित भएका सदस्यहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेर स्थानीय तहसम्म भलमन्सा प्रणालीलाई सुदृढ गर्दै लैजाने योजना पनि प्रस्तुत गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले भलमन्सा प्रणालीको ऐतिहासिक पृष्ठभूमि, सामाजिक महत्व, आधुनिक समाजमा यसको भूमिकाको सान्दर्भिकता, र आगामी पुस्तामा यसको निरन्तरता सुनिश्चित गर्न आवश्यक उपायबारे पनि विचार व्यक्त गरेका थिए।
नगर भलमन्सा समितिले अधिवेशनकाे निष्कर्षस्वरूप समुदायमा सचेतना अभिवृद्धि, भलमन्सा शिक्षा कार्यक्रम, महिला सहभागिता अभिवृद्धि र स्थानीय विवाद समाधानमा भलमन्सा प्रणालीलाई प्राथमिक माध्यमका रूपमा प्रयोग गर्ने बताएको छ।
कार्यक्रमको समापनमा अध्यक्ष चौधरीले “हामीले थालनी गरेका यी अभ्यासहरू केवल परम्परागत अनुष्ठान मात्र नभई अब समाज रूपान्तरणको सशक्त माध्यम बन्नुपर्ने छ” भन्दै सबै भलमन्साहरूलाई समर्पणसाथ लाग्न आग्रह गरेका छन् ।