चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती तीन महिनामा सरकारले साढे १८ प्रतिशत बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
कार्यालयका अनुसार असोज मसान्तसम्ममा चालूगत शीर्षकमा वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगत शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् एक १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ ।
यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ रुपैयाँ असुली भएको हो ।
आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख रुपैयाँ असुली भएको छ । यसैगरी ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकोमा अहिलेसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख रुपैयाँ प्राप्ति भएको छ ।