बेलौरी : सरकारी विद्यालयको रिजल्ट निराशाजनक, निजी विद्यालयहरुको उत्कृष्ट प्रदर्शन

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
माध्यमिक शिक्षा परीक्षा (एसईई) रिजल्ट २०८१
  • रेडियो सुदूर सञ्चार
  • २५ असार २०८२ (८ घण्टा अघि)
  • २१६

चन्द्रिका चाैधरी / बेलौरी, कञ्चनपुर —

कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था फेरि एक पटक गहिरो बहसको विषय बनेको छ। हालै सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले सरकारी विद्यालयहरूमा सुधारको अपेक्षा त धरापमा पारेकै छ, साथै शिक्षाको समग्र प्रवृत्तिप्रति समेत गम्भीर चिन्ताकाे संकेत देखिएको छ।

शून्य नतिजाको शृङ्खला रोकिएन

बेलौरी नगरभित्रका केही सामुदायिक विद्यालयहरूले विगतका वर्षहरूमा निरन्तर रुपमा एसईईमा शून्य नतिजा ल्याउँदै आएका छन्। यो वर्ष अर्थात् शैक्षिक सत्र ०८१ मा पनि यो प्रवृत्तिमा खासै सुधार देखिएको छैन। विशेषतः गणेश माध्यमिक विद्यालय यस वर्ष पूर्णरूपमा 'निल' भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार १३ गते सार्वजनिक गरेको नतिजा अनुसार गणेश माविका २० जना विद्यार्थीमध्ये एकजनाले पनि एसईई उत्तीर्ण गर्न सकेनन्।

गत वर्ष जननमुना माविले १६ विद्यार्थी सहभागी गराएकोमा सबै असफल भएका थिए। तर यो वर्ष त्यस विद्यालयमा १७ विद्यार्थीमध्ये ३ जनाले मात्र सफलता हासिल गरेका छन्। यसले संकेत गर्छ कि सुधारको प्रयास गरिएको भए तापनि त्यो प्रयत्न नतिजामूलक बन्न सकेको छैन।

समग्र नतिजाको अवस्था

बेलौरी नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार, २६ वटा विद्यालयबाट ८३९ विद्यार्थी एसईईमा सहभागी भएका थिए। तीमध्ये ४४४ जना मात्र उत्तीर्ण भएका छन् भने ३९५ जना असफल भएका छन्। यसरी नगरपालिकाको समग्र पास प्रतिशत ५७.२२% मा सीमित भएको छ, जुन राष्ट्रिय औसतभन्दा निकै तल रहेको अनुमान गर्न सकिन्छ।

निजी विद्यालयको उत्कृष्ट प्रदर्शन 

यता निजी विद्यालयहरूको प्रदर्शन भने उदाहरणीय देखिएको छ। विशेष गरी जिवनरेखा विद्या मन्दिर, ब्राईटस्टार बोर्डिङ स्कुल र सनराईज बोर्डिङ स्कुलले सतप्रतिशत नतिजा निकालेर निजी शिक्षाको गुणस्तरप्रति जनविश्वास झनै बलियो बनाएको छ। जिवनरेखाका २४, ब्राईटस्टारका २२, र सनराईजका ११ जना विद्यार्थी सहभागी भएका थिए र सबै उत्तीर्ण भएका छन्।

त्यस्तै, अन्य निजी विद्यालयहरू — उग्रतारा बाल विद्यालय, विज्डम एकेडेमी, एभरेष्ट बोर्डिङ स्कुल, वात्सल्य विद्या निकेतन, र लिटिल गार्डेन ईङ्लिश बोर्डिङ स्कुल — ले पनि अत्यन्तै सराहनीय नतिजा प्राप्त गरेका छन्। उग्रतारामा २६ मध्ये २५, वात्सल्यमा ३० मध्ये २९, लिटिल गार्डेनमा २६ मध्ये २५, एभरेष्टमा ३० मध्ये २९, र विज्डममा ४५ मध्ये ४३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यस्ता उपलब्धिहरूले निजी क्षेत्रले आफ्नो पठनपाठनको पद्धति, अनुशासन र विद्यार्थीको तयारीमा खास ध्यान दिएको बुझाउँछ।

सरकारी विद्यालयहरूमा निराशाजनक अवस्था

सरकारी विद्यालयतर्फ हेर्दा, सस्वती माविमा २२ मध्ये १५, शान्ति माविमा ५९ मध्ये ३७, महाकाली माविमा ५३ मध्ये २७, त्रिभुवन माविमा ३८ मध्ये १८, लक्ष्मी माविमा ८१ मध्ये २२, गोरखनाथमा १४ मध्ये ३, जनज्योती माविमा ७६ मध्ये १५, सिद्धेश्वरीमा २८ मध्ये ५, कल्याण माविमा १९ मध्ये ३, भागेश्वर माविमा ५७ मध्ये ६ र शारदा माविमा ३५ मध्ये ३ जना मात्र उत्तीर्ण भएका छन्।

यसले सरकारी विद्यालयहरूमा संरचनागत सुधार, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, र अध्यापन विधिका दृष्टिकोणबाट व्यापक परिवर्तन आवश्यक रहेको पुष्टि गर्छ।

उच्चतम जिपिए कसले ?

उच्चतम जिपिए ३.९६ ब्राईटस्टार, वात्सल्य र लिटिल गार्डेनका विद्यार्थीहरूले प्राप्त गरेका छन् भने उग्रतारा बाल विद्यालयले ३.८३ जिपिएसम्म पुर्‍याएको छ। यी तथ्यांकहरूले निजी विद्यालयहरूमा गुणस्तरीय शिक्षण विधि, शिक्षकको लगाव र विद्यार्थीको प्रतिबद्धता झल्काउँछन्।

चिन्ता र साचो 

एसईईको नतिजापछि अभिभावकहरूमा गहिरो असन्तुष्टि र निराशा देखिएको छ। सरकारी विद्यालयहरूमा बालबालिकालाई पठाउँदा भविष्य अन्योलमा पर्न सक्छ भन्ने डरले धेरैलाई निजी विद्यालय रोज्ने अवस्था सिर्जना भइरहेको छ। तर सबै अभिभावकको आर्थिक हैसियत निजी स्कुलको शुल्क धान्ने अवस्थामा छैन। यसैले, सार्वजनिक शिक्षाको सुधार अपरिहार्य बनेको छ।

नगरपालिकाको तयारी

बेलौरी नगरपालिका शिक्षा शाखाका प्रमुख अमित प्रशाद भट्टका अनुसार, नतिजा शून्य ल्याउने विद्यालयहरूका प्रतिनिधिहरू, प्रधानाध्यापक, शिक्षक र सरोकारवालाहरूलाई समेटेर समिक्षात्मक बैठक गर्ने तयारी भइरहेको छ। उनले भने — “असफल विद्यालयहरूको समिक्षा गरिनेछ, त्यसपछि गुणस्तरीय सुधारका लागि व्यवहारिक कार्यक्रमहरू अगाडि सारिन्छन्। अबका दिनमा शिक्षामा लगानी मात्र होइन, परिणाममुखी कार्ययोजना आवश्यक छ।”

नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नतिजा केन्द्रित सुधार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यस अन्तर्गत शिक्षक क्षमता विकास, विद्यालय अनुगमन, विद्यार्थीको नियमित मूल्यांकन तथा अभिभावकसँग समन्वयमा विशेष कार्यक्रमहरू ल्याइने जनाइएको छ।

भने, बेलौरी नगरपालिकाको वर्तमान एसईई नतिजा सामुदायिक विद्यालयहरूको शिक्षण पद्धति, व्यवस्थापन, र प्रतिबद्धताप्रति गम्भीर प्रश्न खडा भएको छ। तत्काल सुधार नहुने हो भने सार्वजनिक शिक्षाप्रति जनविश्वास घट्ने मात्र होइन, भविष्यका पुस्ताहरूको समुचित विकासमा पनि गम्भीर असर पर्ने देखिन्छ ।

त्यसैले अब सुधारको जिम्मेवारी केवल शिक्षक वा विद्यालयको मात्र नभई, अभिभावक र सराेकारवाला सबैको सामूहिक उत्तरदायित्व बन्नु पर्दछ।

अन्तिम अध्यावधिक: २५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस