कञ्चनपुर -
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस नेता अच्युतराज कलौनीको पोस्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ । शव परीक्षण रिपोर्टले मृत्युको कारण नखोल्ने देखिएपछि मुटु लगायतका नमूनाहरू थप परीक्षणका लागि टेकु पठाइएको हो ।
भिसेरा परीक्षणका लागि नेपालगन्जस्थित प्रहरीको विधिविज्ञान प्रयोगशाला र मुटु परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । मुटु र भिसेरा परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ । कांग्रेसको भीमदत्त नगर सभापति कलौनी गत शनिबार बिहान भीमदत्त नगरपालिका -१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा मृत अवस्थामा फेला परेका थिए ।
मृत कलौनीको बाहिर चोट देखिएको थिएन । पोस्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीको भनाइ छ । घटनाको भोलिपल्टै भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो।यस्तै कलौनीले प्रयोग गर्दै आएको मोबाइल अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन भने खोजी जारी छ ।
नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।