भारतमा जारी कुम्भमेला गएर फर्किने क्रममा नेपाली सवार एक गाडी दुर्घटनामा परेको छ । रुपन्देहीको देवदहबाट कुम्भमेला गएका तीर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए ।
कुम्भमेलाबाट फर्किने क्रममा युपी ५३ एफ डी ४२८८ नम्बरको सो गाडी भारतको उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको प्रहरीले जनाएको छ ।
कुम्भमेलाबाट फर्किने क्र्रममा सो गाडी भारतको उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो । गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ ।
फागुन ३ गते देवदह बाट कुम्भमेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।