कञ्चनपुर -
दोधाराचाँदनी नगरपालिका १० प्रधान टोलमा जंगली हात्तीको बथानले बालनाली सखाप पारेको छ । आइतबार राती जंगली हात्तीको बथानले गहुँ, उखु, मसुरो लगायत बाली खाएर सखाप पारेको स्थानीय बासीहरुले बताएका छन् ।
आइतबार राती करिब १० बजे तिर १५/१६ को संख्यामा आएको हात्तीकाे बथान गाँउ पसेपछि गाउँलेले होहल्ला गरेर धपाएका थिए । जंगली हात्तीले उक्त क्षेत्रका किसानको गँहु, उखु मसुरो, केरा गरी करिब २ बिगाह बाली नोक्सान गरेको छ ।
जंगली हात्तीले दिपक बुढाको करिब १ बिगाहमा रहेको गहुँ उखु, केरा नष्ट पारेको छ भने गणेश शाहीको १ बिगाहमा उत्पादन गरिएको उखु बाली नोक्सान गरेको जनाइएको छ ।
रातीको समयमा जंगली हात्तीले नोक्सानी गरेको पाएपछि दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सहितको एक टोली प्रधान टोल पुगेका छन् ।
नगरप्रमुख किशोर कुमार लिम्बुले स्थलगत अनुगमन सहित स्थानीयहरु संग भेट गरेका छन् । नगर प्रमुख लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला संग जानकारी गराएको बताउदै सो क्षेत्रका स्थानीयलाई समूहगत रुपमा केही दिनमै सुरक्षार्थ र अन्नवाली जोगाउन सर्चलाईट वितरण गर्ने नगर प्रमुख लिम्बुले बताएका छन् ।