कञ्चनपुर -
सत्तारुढ दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पसमा प्यानलै जितेको छ । कृष्णपुर नगरपालिका ५ गुलरियाको कञ्चन बहुमुखी क्याम्पस स्ववियु सभापतिदेखि सदस्य सिङ्गै प्यानल नेवि संघले जितेको हो ।
निर्वाचन संयोजक अनिल भट्टले मध्यरातमा मत गणना सम्पन्न भएको जस अनुरुप नेवि संघकै उम्मेदवार निर्वाचित भएको बताए । नेवि संघका शुनिल ऐरले अनेरास्ववियुका राजेन्द्र खडकालाई ५४मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन् । ऐरले १सय ४४ र खडकाले ९०मत ल्याएका छन् । यस्तै अखिल क्रान्तिकारीकी भावना भट्टले ६६, समाजवादी अनेरास्ववियुका खगेन्द्र भट्टले १३, स्वतन्त्र शिवशंकर विष्टले १४ मत ल्याएका छन् । सचिवमा नेवि संघले धन बहादुर कुँवर(१६९), कोषाध्यक्षमा भावना कुमारी कार्कीले(१४७)मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै सदस्य तर्फ नेवि संघकै खेमराज भट्ट(१३८), निर्मला धामी(१२०), यशोदा खडका(१२७), पावर्तकी भट्ट(१२२) र गिता कुमारी बोहरा(११९)मतका साथ निर्वाचित भएका छन् । कञ्चनमा ३सय ९४ मतदाता मध्ये ३सय ३४ मत खसेका थिए ।
कञ्चनमा सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियुविच झडपले कञ्चनपुरको गुलरियामा मतगणना केही बेर स्थगित भएको थियो । त्यसपछि निर्वाचन समितिले मत गणना गरेर मत परिमाण घोषणा गरेको जनाएको छ । नेकपा एमाले कृष्णपुरका अध्यक्ष कुबेर खडकाले काँग्रेस निकट युवा विद्यार्थीले मदिरा सेवन गरेर प्रहरीकै आडमा आफ्ना पाटी कार्यालय तोडफोडदेखि उम्मेवदबार राजेन्द्र खडकामाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेसका नेता लेखराज जोशीले एमालेभित्रको आन्तरिक गुटउपगुटको उपज नेवि संघमाथि थुपारेको आरोप लगाउँदै उनले १६मत गणना बाँकी रहदा उनीहरुले हार्ने भएपनि विवाद झिकेको बताए ।
कञ्चन बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका उम्मेदवार चुनावी मैदानमा थिए । सत्ताको भागडोर सम्हालेका काँग्रेस, एमाले दलकै विद्यार्थी आफै झडपमा उत्रिएपछि अन्य विद्यार्थी संघ संगठन हैरान भएका छन् । आफै सत्तामा आफै झडप जस्ता गतिबिधीमा उत्रिएपनि सत्ता बाहिर रहेका दलका युवा विद्यार्थीलाई स्वयत्त सत्ताकै दलका युवा विद्यार्थी सरकारलाई सहयोग हो कि, सत्ताको घमण्डले ताण्डप मच्चाएर विद्यार्थीको अधिकार खोस्ने दुस्प्रयारमा लागेको भन्दै प्रशन गरिरहेका छन् ।
नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले निर्वाचित भएका नेवि संघका पदाधिकारीहरुलाई विद्यार्थीको हकहितका पक्षमा काम गर्न आब्हान गरेका छन् । त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान सहितका केही क्याम्पसमा विवादले निर्धारित समयमा निर्वाचन हुन सकेको छैन ।